• Menu

पाकिस्तानमा वार्षिक १५ लाख बालबालिका अनलाइन यौन शोषणको जोखिममा, युनिसेफको प्रतिवेदनले देखायो गम्भीर चित्र

नेपाल प्रफिट

२०८३ असोज ५, सोमबार १४:२७

पाकिस्तानमा वार्षिक १५ लाख बालबालिका अनलाइन यौन शोषणको जोखिममा, युनिसेफको प्रतिवेदनले देखायो गम्भीर चित्र

एजेन्सी । पाकिस्तानमा वार्षिक करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहारको सिकार हुने गरेको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ । सामाजिक कलंक, लाज तथा परिवार र समाजको प्रतिक्रियाको डरले अधिकांश पीडितले आफूले भोगेको घटना कसैलाई बताउने गरेका छैनन् ।

सुरक्षाका कारण नाम परिवर्तन गरिएकी १७ वर्षीया जारा शाह पनि अनलाइन गेम खेल्ने क्रममा एक अपरिचित व्यक्तिको सम्पर्कमा पुगेर यौन दुर्व्यवहारको प्रयासमा परे । उनका अनुसार ती व्यक्तिले मित्रवत् व्यवहार गर्दै विश्वास जितेपछि भेट्न बोलाउनुका साथै नग्न तस्बिर मागेका थिए । अस्वीकार गरेपछि परिवारलाई उनीहरूबीचको कुराकानी सार्वजनिक गरिदिने धम्की दिइएको उनले बताए ।

युनिसेफका अनुसार पीडितमध्ये करिब ८५ प्रतिशतका अपराधी परिचित व्यक्ति हुने गरेका छन् । अपराधीले अनलाइन गेम, मित्रवत् कुराकानी, उपहार, पैसा वा प्रेमको आश्वासनमार्फत बालबालिकाको विश्वास जित्ने गरेको प्रतिवेदनमा उल्लेख छ । करिब ७१ प्रतिशत पीडितले घटना कसैलाई नबताउने गरेका छन् भने सर्वेक्षणमा सहभागी कसैले पनि प्रहरी, हेल्पलाइन वा सामाजिक कार्यकर्तामार्फत औपचारिक उजुरी गरेका थिएनन् ।

बाल अधिकार संस्था पहचानकी निर्देशक मेहक नइमका अनुसार रिपोर्ट भएका घटनामध्ये करिब ४४ प्रतिशत पूर्णरूपमा अनलाइन हुने गरेका छन् र स्न्यापच्याट तथा ह्वाट्सएप बढी प्रयोग हुने माध्यममध्ये पर्छन् । पाकिस्तानमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ७४ प्रतिशत बालबालिका इन्टरनेट प्रयोग गर्ने भएकाले अनलाइन सुरक्षा थप चुनौतीपूर्ण बनेको छ ।

यसैबीच, पञ्जाब सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ । डिजिटल अधिकार अभियन्ता उसामा खिलजीले यस्तो प्रतिबन्ध कार्यान्वयन गर्न कठिन हुने तथा यसले बालबालिकाको अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन् ।

बालबालिकाविरुद्ध प्रविधिको दुरुपयोग रोक्न पाकिस्तानमा कानूनी व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको मुस्लिम ह्यान्ड्सकी प्रवक्ता ताहिरा अफ्रासियाबले बताए । मानव अधिकारसम्बन्धी कानून व्यवसायी सलमान अफ्रिदीले आर्थिक कमजोरीको फाइदा उठाउँदै बालबालिकालाई यौन शोषणमा पार्ने क्रममा प्रविधिबाट विश्वास जित्ने, प्रलोभन दिने, धम्क्याउने तथा सामग्री उत्पादन र वितरण गर्नेसम्मका गतिविधि भइरहेको बताए ।

अनलाइन गेमबाट सुरु भएको आफ्नो अनुभवले अझै डरमा बाँच्न बाध्य बनाएको शाहले बताए । ‘म डराएकी थिएँ र अहिले पनि डराएकी छु,’ उनले भने ।