• Menu

तनहुँको भीमादबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु, चार पालिकाका सर्वसाधारण लाभान्वित

नेपाल प्रफिट

२०८३ असोज ५, सोमबार १४:०६

तनहुँको भीमादबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु, चार पालिकाका सर्वसाधारण लाभान्वित

तनहुँ । जिल्ला प्रशासन कार्यालयले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु गरेपछि वरपरका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका छन् ।

सर्वसाधारणलाई सहज रुपमा सेवा दिने उद्देश्यले भीमाद नगरपालिकाबाट उक्त सेवा सुरु गरिएको हो । राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सदरमुकामस्थित प्रशासन कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाबाटै सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।

जिल्लाका सबै पालिकाका सेवा सदरमुकामस्थित जिल्ला कार्यालयबाट मात्र प्रदान गरिदा सेवाग्राहीको अत्याधिक भीड हुन गई सबैले एकै दिन सेवा नपाउने भएपछि भिमाद नगरपालिकाबाटै उक्त सेवा सञ्चालन गरिएको उनले बताए ।

भीमादमा सुरु भएको सेवा वरपरका स्थानीय तह घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका-५, ६, ७ र ८, म्याग्दे गाउँपालिका-५ का सर्वसाधारण लाभान्वित हुनेछन् । यसैबीच, राष्ट्रिय परिचयपत्र विवरण दिन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि केही समय अगाडि कार्यालयले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म समेत सेवा दिएको थियो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले भने, ‘प्रशासन कार्यालयमा सेवाग्राहीको चाप घटाउन र ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले भीमादमा सेवा विस्तार गरिएको हो ।’

उनले स्थानीयस्तरमै परिचयपत्र उपलब्ध भएपछि सेवाग्राहीको समय र खर्च बचत तथा सेवा प्रवाहसमेत थप प्रभावकारी बन्ने हुने विश्वास व्यक्त गरे ।

 

सम्बन्धित समाचार