काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ।
विदेशमा रहेका नेपालीलाई नेपालमा रहेका परिवारका सदस्यको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले अभियान सुरु गरिएको इसेवाले जनाएको छ। अभियानमार्फत विदेशबाट नेपालमा रहेका आफन्तको इसेवा खातामा सिधै रेमिट्यान्स पठाउन सकिने सुविधाबारे जानकारी गराउनुका साथै रेमिट्यान्सको उचित उपयोग र डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ ।
इसेवाका अनुसार विदेशमा रहेका नेपालीले उसका आधिकारिक रेमिट्यान्स साझेदारमार्फत नेपालमा रहेका आफन्तको इसेवा खातामा सिधै रकम पठाउन सक्छन्। खातामा प्राप्त रकमबाट परिवारका सदस्यले विद्युत् तथा खानेपानीको महसुल, टेलिफोन तथा इन्टरनेटको बिल, बीमा योजना तथा बीमाशुल्क र विद्यालय शुल्कलगायत दैनिक आवश्यकताका भुक्तानी गर्न सक्नेछन्।
विदेशबाट प्राप्त रेमिट्यान्सलाई दैनिक जीवनका भुक्तानीसँग जोडेर परिवारका सदस्यको जीवन सहज बनाउनु अभियानको प्रमुख उद्देश्य रहेको इसेवाले जनाएको छ। भौगोलिक रूपमा टाढा रहेका नेपालीलाई परिवारसँगको जिम्मेवारी र आत्मीयतासँग जोड्न अभियानले सहयोग गर्ने कम्पनीको विश्वास छ ।
इसेवा खातामा सिधै रेमिट्यान्स प्राप्त गर्न सकिने सुविधाले नगद झिक्न एजेन्ट वा बैंकसम्म पुग्नुपर्ने झन्झट कम गर्ने तथा रेमिट्यान्सलाई औपचारिक र डिजिटल अर्थतन्त्रसँग जोड्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
साथै, वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउने सरकारी नीतिलाई सहयोग पुग्नुका साथै डिजिटल साक्षरता र वित्तीय पहुँच विस्तारमा समेत योगदान पुग्ने इसेवाको भनाइ छ।