• Menu

सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा, १० प्रतिशत बोनस र १० प्रतिशत नगद दिने प्रस्ताव

नेपाल प्रफिट

२०८३ असोज २, शुक्रबार ११:३९

सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा, १० प्रतिशत बोनस र १० प्रतिशत नगद दिने प्रस्ताव

काठमाडौं ।  सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट आफ्ना साधारण सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

असोज १ गते बसेको बैंक सञ्चालक समितिको ४८२औँ बैठकले साधारण सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नगद लाभांशमध्ये बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुने र त्यसमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

बैंकको हाल कायम चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँ रहेको छ। सो चुक्ता पुँजीको १० प्रतिशत बराबर १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बोनस सेयर तथा सोही बराबरको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

यसैगरी, ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले २८ करोड ८७ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११ करोड रुपैयाँ अर्थात् ३.३२ प्रतिशतले बढी हो।

प्रतिकूल बजार अवस्थाका बाबजुद बैंकले निष्क्रिय कर्जाको अनुपात ३.५२ प्रतिशतमा सीमित गर्न सफल भएको जनाएको छ।

२०८३ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब ७९ करोड रुपैयाँ र अग्राधिकार सेयर ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा कोष १८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद सम्पत्ति ३६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ अर्ब ९१ करोड रुपैयाँले बढी हो।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा बैंकको प्रतिशेयर खुद सम्पत्ति २२४.८९ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यो २१९.७७ रुपैयाँ थियो। यस आधारमा प्रतिशेयर खुद सम्पत्तिमा २.३३ प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ।

यस आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी २२.७८ रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षमा २२.७६ रुपैयाँ रहेको थियो।