काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२.८५ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६४७ अंकमा पुगेको छ।
बजारसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।
शुक्रबार बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.५९ प्रतिशत बढेको छ। जीवन बिमा समूह १.५२ प्रतिशत बढेको छ।
त्यस्तै जलविद्युत समूह ०.८५ प्रतिशत, व्यापार ०.८५ प्रतिशत, लघुवित्त०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५५ प्रतिशत, निर्जीवन बिमा ०.४८ प्रतिशत, विकास बैंक ०.४० प्रतिशत, होटल तथा पर्यटन ०.३३ प्रतिशत र लगानी समूह ०.१० प्रतिशत बढेका छन्।
वित्त समूह ०.०२ प्रतिशत र अन्य समूह ०.११ प्रतिशत घटेका छन्।
आज कारोबार भएका कम्पनीमध्ये १९६ वटाको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
मूल्य बढ्ने कम्पनीमा स्नो रिभर्स १३.६६ प्रतिशतले अगाडि रह्यो। इनिफिनिटी लघुवित्तको सेयर मूल्य ९.८१ प्रतिशत, मैलुङखोला जलविद्युत ८.८४ प्रतिशत, याम्बलिङ हाइड्रोपावर ६.२० प्रतिशत र बोटलर्स नेपाल (तराई) को ५.०६ प्रतिशत बढेको छ।
मूल्य घट्नेमा हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। धौलागिरी लघुवित्त ५.१३ प्रतिशत र मातृभूमि लघुवित्त २.६४ प्रतिशत घटेका छन्।
कारोबार रकमका आधारमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर र शिवम् सिमेन्ट अगाडि रहेका छन्।