• Menu

वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो

नेपाल प्रफिट

२०८३ भदौ ३१, बुधबार १०:५०

वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि केही वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।

असोजका लागि २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर भदौको ४.१३६ प्रतिशतबाट ०.०४६५ प्रतिशत विन्दुले घटेर ४.०८९५ प्रतिशतमा झरेको छ।

संस्थागत निक्षेपको औसत ब्याजदर पनि ३.०८१ प्रतिशतबाट ०.०१४५ प्रतिशत विन्दुले घटेर ३.०६६५ प्रतिशत कायम भएको छ।

सबैभन्दा धेरै ब्याजदर कटौती एभरेष्ट बैंकले गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५५ प्रतिशत विन्दुले घटाएर ३.५० प्रतिशतमा झारेको छ । यस्तै, संस्थागत निक्षेपतर्फको दर पनि ०.२५ प्रतिशत विन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ ।

नबिल बैंकले पनि ब्याजदर घटाएको छ । व्यक्तिगत निक्षेपको ब्याजदर ०.३० प्रतिशत विन्दुले घटाएर ४.२५ प्रतिशतमा झारेको छ छ। संस्थागत निक्षेपको ब्याजदर भने स्थिर राखेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशत विन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ । यसैगरी, कुमारी बैंकले ०.०३ प्रतिशत विन्दुले घटाएर ३.७३ प्रतिशत, सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएर २.७५ प्रतिशत कायम गरेका छन् ।

सानिमा बैंकले व्यक्तिगत निक्षेपको ब्यादर यथावत राखेको छ भने संस्थागत निक्षेपको बढाएको छ । संस्थागत निक्षेपको ब्याजदर ०.२१ प्रतिशत विन्दुले बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ।

व्यक्तिगत निक्षेपतर्फ प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेको छ। यस्तै, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित १५ वटा बैंकले असोजमा व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको र कर्जाको माग अपेक्षाअनुसार नबढेको अवस्थामा बैंकहरूले निक्षेपको लागत घटाउने क्रमलाई निरन्तरता दिएका हुन्। यसले आगामी दिनमा बैंकहरूको कर्जा तथा निक्षेपको ब्याजदरमा समेत प्रभाव पार्न सक्ने देखिन्छ।