काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन भवनमा पुनः आगलागी भएको छ। मुद्दा फाँटतर्फ रहेको मल्टिप्लगमा विद्युत् सर्ट भएपछि आगलागी भएको बताइएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार बन्द कोठाभित्र विद्युत् सर्ट हुँदा आगो लागेको हो । उनका अनुसार घटनाबाट ठूलो क्षति भने भएको छैन ।
आगलागीका कारण एउटा टेबल र तीनवटा कम्प्युटर जलेका छन्। घटनामा मुद्दासम्बन्धी मिसिलहरू भने सुरक्षित रहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
आगलागी भएको सूचना पाएलगत्तै प्रहरी र दमकल घटनास्थलमा पुगेका थिए। उनीहरूले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।
सर्वोच्च अदालतमा यसअघि पनि १७ भदौमा आगलागी भएको थियो। त्यसबेला अदालतको अभिलेख शाखामा आगलागी हुँदा घटनाबारे छानबिन भइरहेको छ ।
उक्त घटनाको छानबिन जारी रहेकै अवस्थामा सर्वोच्च अदालतमा पुनः आगलागी भएको हो । यसअघि जेनजी आन्दोलनका क्रममा समेत सर्वोच्च अदालत परिसरमा आगजनी हुँदा ठूलो भौतिक क्षति भएको थियो ।