• Menu

भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघद्वारा ३३ लाख ३३ हजार सहयोग

नेपाल प्रफिट

२०८३ भदौ २५, बिहीबार १७:०९

भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघद्वारा ३३ लाख ३३ हजार सहयोग

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि ३३ लाख ३३ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको जनाएको छ। संघका सदस्य उद्योगहरूले समेत आ-आफ्नो तर्फबाट कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेको संघले जनाएको छ ।

गत भदौ १० गते तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा घाइते र प्रभावित नागरिकको स्वास्थ्यलाभको कामना गरेको छ ।

संघले बाढीबाट प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायले गरिरहेको प्रयासको प्रशंसा गरेको छ।

यसैगरी, बाढीपीडित तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरूको सहयोगमा लत्ताकपडा, तयारी पोशाक तथा अन्य आवश्यक सामग्री राहतस्वरूप वितरण गरिरहेको जनाएको छ।

संघले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरको संरक्षण र सिर्जनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

नेपाल तयारी पोशाक उद्योग संघले विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत, पुनर्स्थापना तथा रोजगारी पुनर्स्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार