• Menu

भोटेकोशीको माथिल्लो क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १७:३३

भोटेकोशीको माथिल्लो क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा जलस्रोत अनुसन्धान केन्द्रले बिहीबार सूचना जारी गर्दै चीनतर्फबाट प्राप्त भू-उपग्रह तस्बिर र प्रारम्भिक अध्ययनका आधारमा बुधबार आएको बाढीको उद्गमस्थल आसपासमा ताल बनेको जनाएको छ। उक्त तालमा पानीको सतह बढ्दै गएकाले फुट्ने सम्भावना रहेको केन्द्रले जनाएको हो ।

ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा पुनः बाढी आउन सक्ने जोखिम रहेकाले अर्को सूचना जारी नभएसम्म नदी किनारका बासिन्दा, यात्रु तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

केन्द्रले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको छ। सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिई आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

केन्द्रको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले प्राप्त सूचनाका आधारमा सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक तयारी गर्न आग्रह गरेका छन् ।