काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली गठन गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै तत्काल प्रभावबाट गठन गरिएको आपत्कालीन प्रतिकार्य टोलीले बाढीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, प्राप्त सूचनाको प्रमाणीकरण र आवश्यक कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ।
मन्त्रालयका अनुसार टोलीले विदेशी नागरिकसम्बन्धी आवश्यक सूचना संकलन गरी सम्बन्धित निकायसँग समन्वय गर्नेछ। साथै, बेपत्ता वा प्रभावित विदेशी नागरिकका परिवार तथा सम्बन्धित कूटनीतिक नियोगलाई आवश्यक सूचना उपलब्ध गराउन सहजीकरण गर्नेछ।
परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, बेपत्ता विदेशी नागरिकका परिवार तथा सर्वसाधारणलाई रसुवा बाढीसँग सम्बन्धित प्रभावित वा बेपत्ता विदेशी नागरिकबारे कुनै सूचना भए टोलीलाई उपलब्ध गराउन आग्रह गरेको छ।
त्यसका लागि +९७७-९७४४४४१२२७ र +९७७-९७४४४४१२२८ मा आपत्कालीन सम्पर्क तथा ह्वाट्सएपमार्फत जानकारी दिन सकिने मन्त्रालयले जनाएको छ। दोस्रो नम्बरमा बिहान ७ बजेदेखि राति १० बजेसम्म सम्पर्क गर्न सकिनेछ। त्यस्तै, [email protected] मा इमेलमार्फत पनि सूचना पठाउन सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विपद्सम्बन्धी अपुष्ट सूचना तथा विवरण प्रसारण नगर्न आग्रह गर्दै घटनाबारे जानकारीका लागि आधिकारिक माध्यममा निर्भर रहन सबैलाई अनुरोध गरेको छ।
भोटेकोशी बाढीबाट रसुवामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेका बेला विदेशी नागरिकसँग सम्बन्धित सूचना संकलन, उद्धार तथा समन्वयलाई प्रभावकारी बनाउन आपत्कालीन प्रतिकार्य टोली गठन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बाढी प्रभावित अवस्थाबारे समयमै आधिकारिक सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गर्दै जाने जनाएको छ।