सर्लाही । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सर्लाहीका नौ जना सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये केही गोसाइँकुण्ड तीर्थयात्राका लागि रसुवा पुगेका थिए भने दुई जना त्रिशूली ‘३बी’ जलविद्युत आयोजनामा कार्यरत प्राविधिक रहेका छन्।
लालबन्दी नगरपालिका-९ का माधव काफ्ले र अनुज काफ्ले तथा लालबन्दी-५ का कृष्णप्रसाद धमला, द्वारिका दङ्गाल र चिरञ्जीवी खतिवडा केही दिनअघि गोसाइँकुण्ड तीर्थयात्राका लागि रसुवा पुगेका थिए। बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको जनाइएको छ।
त्यसैगरी हरिवन नगरपालिका-११ कडरिया चोकका सक्षम कार्की र मनिल कायस्थ पनि बुधबार बिहानदेखि सम्पर्कविहीन छन्। मनिलका बुबा बालगोपाल कायस्थका अनुसार उनीहरू साथीहरूसँग गोसाइँकुण्ड यात्राका लागि रसुवा गएका थिए।
भोटेकोशीको बाढीका कारण त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनामा कार्यरत सर्लाहीका दुई प्राविधिकसमेत सम्पर्कविहीन भएका छन्। हरिवन नगरपालिका-५ घुर्कौलीका सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका-७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन भएका हुन्।
बाढीका कारण उनीहरू कार्यरत जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेपछि दुवै जनासँग सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी गराउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सर्लाहीले सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका आफन्त सम्पर्कविहीन भए उनीहरूको विवरण उपलब्ध गराउन आग्रह गरेको छ। प्रहरीले प्राप्त विवरणका आधारमा खोजी तथा उद्धार कार्यमा आवश्यक समन्वय गरिने जनाएको छ।