महोत्तरी । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न विद्युत आयोजनामा कार्यरत तथा कामविशेषले त्यहाँ पुगेका महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन गर्न खोजी तथा आवश्यक समन्वय भइरहेको जानकारी दिए ।
सम्पर्कविहीन हुनेमा बर्दिबास-३ का सौभाग्य बिष्ट, बर्दिबास-९ की जोया राना मगर, पिपरा-३ का विकास यादव, औरही-३ का सचिनकुमार यादव, गौशाला-९ का विजय थापामगर, लोहारपट्टि-७ का युवराज पाण्डे तथा गौशाला-८ बेलगाछीका शीतल लुङ्गेली, उनकी श्रीमती सरिता लुङ्गेली र छोरा साइमन लुङ्गेली रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सम्पर्कविहीनमध्ये अधिकांश रसुवाका विभिन्न विद्युत उत्पादन केन्द्रमा कार्यरत थिए ।
बर्दिबास-३ का सौभाग्य बिष्टका पिता ध्रुवकुमार बिष्टले बुधबार बिहान ८ बजेदेखि छोरासँग सम्पर्क हुन नसकेको बताएका छन् । बाढीका कारण सञ्चार तथा सडक सम्पर्क प्रभावित भएकाले सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन गर्न कठिनाइ भइरहेको प्रशासनले जनाएको छ ।
सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।