कास्की। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि ४५ लाख सहयोग गर्ने भएको छ ।
महानगरका जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाले अत्याधुनिक एम्बुलेन्ससहित राहत सामग्री, स्वास्थ्यकर्मी तथा नगर प्रहरी सम्मिलित सहायता टोलीसमेत बाढी प्रभावित क्षेत्रमा पठाएको छ ।
नगर प्रमुख आचार्यले प्राकृतिक विपद्को अवस्थामा राहत तथा उद्धार कार्यलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बन्धित निकायसँग आवश्यक सम्पर्क, समन्वय तथा सहजीकरण गरिरहेको उनले बताए ।
बुधबार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएपछि पोखरा महानगरपालिकासहित गण्डकी प्रदेशका अन्य स्थानीय तहले समेत प्रभावितका लागि राहत तथा सहयोग उपलब्ध गराउन थालेका छन् ।