• Menu

नाडा अटो सो मा रिभोल्टको शक्तिशाली इलेक्ट्रिक बाइक सार्वजनिक, मूल्य ३.९९ लाख

नेपाल प्रफिट

२०८३ भदौ ९, मंगलबार २१:०९

नाडा अटो सो मा रिभोल्टको शक्तिशाली इलेक्ट्रिक बाइक सार्वजनिक, मूल्य ३.९९ लाख

काठमाडौं । एमभी दुगड ग्रुपले भारतको रिभोल्ट मोटर्सको नयाँ इलेक्ट्रिक बाइक ‘अल–न्यू आरभीएक्स’ नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंमा जारी नाडा अटो सो २०२६ मा सार्वजनिक गरिएको आरभीएक्सलाई रिभोल्ट मोटर्सको अहिलेसम्मकै शक्तिशाली इलेक्ट्रिक बाइकका रूपमा प्रस्तुत गरिएको छ ।

आरभीएक्सको सीमित अवधिका लागि सुरुवाती मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अटो सोमा रहेको रिभोल्टको पेभिलियन तथा काठमाडौंको पानीपोखरीस्थित फ्ल्यागसिप सोरुमबाट बुकिङ र टेस्ट राइड खुला गरिएको कम्पनीले जनाएको छ । नेपालभर विस्तार भइरहेको रिभोल्टको सोरुम नेटवर्कमार्फत छिट्टै डेलिभरी सुरु गरिनेछ ।

आरभीएक्समा ४ किलोवाटको मिड–ड्राइभ पीएमएसएम मोटर जडान गरिएको छ, जसले ५.३ किलोवाटसम्मको पिक पावर र ह्विलमा २३० एनएमसम्म टर्क उत्पादन गर्छ । बाइकले ३.९ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने तथा नयाँ ‘बुस्ट मोड’ मा अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्ने कम्पनीको दाबी छ ।

बाइकमा ३.२४ किलोवाटको रिमुभेबल एनएमसी ब्याट्री रहेको छ । एकपटक पूर्ण चार्ज गर्दा १६० किलोमिटर आईडीसी रेन्ज दिने तथा फास्ट चार्जरबाट ८० मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । रिमुभेबल ब्याट्री भएकाले सामान्य घरायसी सकेटबाट समेत चार्ज गर्न सकिने सुविधा रहेको छ ।

आरभीएक्समा बुस्ट, स्पोर्ट्स, सिटी र इको गरी चारवटा राइडिङ मोड छन् । त्यस्तै, यूएसडी फ्रन्ट फोर्क र रियर मोनो–सक, ३.५ इन्चको आईपी६७–रेटेड पीएमभीए डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिमेटिक्स, जियो–फेन्सिङ र ओटिए अपडेटजस्ता सुविधा दिइएको छ । कल तथा म्यासेज नोटिफिकेसन, हिल–होल्ड असिस्ट, रिभर्स मोड, पार्क असिस्ट, इम्मोबिलाइजर र भेहिकल लोकेटर पनि बाइकमा उपलब्ध छन् ।

आरभीएक्स सार्वजनिक गर्दै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले नेपाली राइडरका लागि विद्युतीय गतिशीलताको उत्कृष्ट प्रविधि ल्याउने प्रतिबद्धताको परिणाम आरभीएक्स भएको बताए । उनका अनुसार इन्धनको बढ्दो मूल्य र वातावरणीय चेतनाबीच आरभीएक्सले कार्यक्षमता र शैलीमा सम्झौता नगरी दिगो तथा किफायती विकल्प प्रदान गर्नेछ ।

यसै अवसरमा रिभोल्ट र एमभी दुगड ग्रुपले ‘नेपाल गर्छ रिभोल्ट’ नामक ब्रान्ड अभियानसमेत सार्वजनिक गरेका छन् । कम्पनीका अनुसार अभियानले आत्मविश्वासी, महत्वाकांक्षी र आफ्नै तरिकाले अघि बढ्न चाहने नेपाली राइडरलाई लक्षित गरेको छ ।

आरभीएक्स नाडा अटो सोमा प्रत्यक्ष अवलोकन, टेस्ट राइड तथा प्रि–बुकिङका लागि उपलब्ध छ । कम्पनीका अनुसार काठमाडौंसहित वीरगन्ज, जनकपुर, पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल र धनगढीलगायत प्रमुख सहरका एमभी दुगड ग्रुपका शोरुमबाट पनि बाइक उपलब्ध हुनेछ ।