• Menu

१८औँ नाडा अटो शो २०२६ को सम्पूर्ण तयारी पूरा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

नेपाल प्रफिट

२०८३ भदौ ८, सोमबार १७:३६

१८औँ नाडा अटो शो २०२६ को सम्पूर्ण तयारी पूरा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिएको हो ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार अटो शोका लागि २ सय १५ भन्दा बढी स्टल निर्माण भइसकेका छन् । प्रदर्शनीस्थलको स्थलगत अवलोकन गराउँदै अध्यक्ष उप्रेतीले यस वर्ष विगतका तुलनामा स्टलहरू थप फराकिला र व्यवस्थित बनाइएको बताए ।

प्रदर्शनीस्थलमा दर्शकको सुविधालाई ध्यानमा राख्दै पर्याप्त बत्ती, वातानुकूलित व्यवस्था तथा पंखाको समेत व्यवस्था गरिएको नाडाले जनाएको छ । प्रदर्शनीलाई चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणसहित ‘मेड इन नेपाल’ र ‘मेड फर नेपाल’ प्याभिलियन तथा इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।

नाडाका अनुसार प्रदर्शनीमा अवलोकनकर्ताले आफूलाई आवश्यक क्षेत्रअनुसार छुट्टाछुट्टै भागमा पुगेर जानकारी लिन सक्नेछन् । सवारीसाधन खरिद गर्न चाहने ग्राहकले गाडी, त्यसको मूल्य, सुविधा, वित्तीय व्यवस्था, बीमा तथा बिक्रीपछिको सेवासम्बन्धी जानकारी एकै स्थानबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस वर्षको नाडा अटो शोमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको नाडाले जनाएको छ ।

अटो शो अवलोकन गर्न चाहने दर्शकका लागि अग्रिम टिकट बुकिङको व्यवस्था पनि गरिएको छ । नाडाका अनुसार खल्ती एप वा आधिकारिक क्यूआर कोडमार्फत अनलाइन टिकट खरिद गर्न सकिनेछ । सर्वसाधारणका लागि प्रवेश शुल्क २ सय रुपैयाँ र विद्यार्थीका लागि १ सय ५० रुपैयाँ तोकिएको छ ।

भोलि बिहान साढे १० बजेदेखि सुरु हुने अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष उप्रेतीले अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै दुई स्थानमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको जानकारी दिए । नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनअन्तर्गतको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेपाल ट्रेडिङ परिसरमा सवारी पार्किङको व्यवस्था गरिएको छ ।

प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, सञ्चारकर्मीका लागि मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ । साथै, सुरक्षाका लागि सीसीटीभी निगरानी र आगलागी नियन्त्रण प्रणालीसमेत जडान गरिएको नाडाले जनाएको छ ।

नाडाले अटो शोमा आउने दर्शकलाई सहज र व्यवस्थित रूपमा नयाँ सवारीसाधन, अटोमोबाइल प्रविधि, पार्ट्स तथा सेवाबारे जानकारी लिन सक्ने वातावरण तयार गरिएको जनाएको छ ।