एजेन्सी । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ ।
स्विट्जरल्यान्डले उत्तर कोरियाको वोनसानस्थित सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरलाई प्रतिबन्धको सूचीमा राखेपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो ।
उत्तर कोरियाली सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार उत्तर कोरियाको विदेश मन्त्रालयले एस्टियरलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै देश छाड्न निर्देशन दिएको हो ।
उत्तर कोरियाको विदेश मन्त्रालयअन्तर्गत युरोपेली विभागका महानिर्देशक पाक ह्योन सुले एस्टियरलाई बोलाएर कूटनीतिक कार्यालय बन्द गर्न आग्रह गरिएको मन्त्रालयको ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।
उत्तर कोरियाले सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरलाई प्रतिबन्ध लगाउने स्विस अधिकारीहरूको निर्णयलाई आफ्नो कदमको कारण बताएको छ । उक्त शिविरमा रुसी नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रबाट ल्याइएका बालबालिकालाई प्रभावित पार्ने गतिविधिमा सहयोग गरेको आरोप लाग्दै आएको छ ।
यसअघि मंगलबार उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले स्विट्जरल्यान्डको निर्णयको निन्दा गर्दै प्योङयाङस्थित कूटनीतिक कार्यालय बन्द गर्ने चेतावनी दिएका थिए । उक्त शिविरमा चिनियाँ र रुसी बालबालिकाले समेत सहभागिता जनाउँदै आएका छन् ।
उत्तर कोरियासँग वार्ता र कूटनीतिक सम्बन्ध कायम राख्ने सीमित पश्चिमी मुलुकमध्ये स्विट्जरल्यान्ड पनि एक हो । केही साताअघि स्विस विदेशमन्त्रीले उत्तर कोरियाको भ्रमण गरी दुई देशबीचको सम्बन्ध सामान्य बनाउने विषयमा छलफल गरेका थिए ।
उत्तर कोरियास्थित स्विस कूटनीतिक कार्यालयले बेइजिङस्थित स्विट्जरल्यान्डको दूतावासमा प्रतिवेदन बुझाउँदै आएको छ । उक्त दूतावासले नै उत्तर कोरियासँगको कूटनीतिक तथा कन्सुलर सम्बन्धसम्बन्धी काम सम्हाल्दै आएको छ ।