• Menu

भूकम्पको घाउ र बाढीको पीडा बिर्सेर मुस्कुराइरहेको लाङ्टाङ : तर कहिले पुग्छ राज्यको नजर ?

नेपाल प्रफिट

२०८३ मंसिर ९, बुधबार १३:४९

भूकम्पको घाउ र बाढीको पीडा बिर्सेर मुस्कुराइरहेको लाङ्टाङ : तर कहिले पुग्छ राज्यको नजर ?

रसुवा । वरिपरि सेताम्मै हिमशृङ्खला । अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका । हिमाली काखमा बसेको ‘लाङ्टाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुनगुनाउन मन लाग्छ-

‘हिमालको काखमा छ, सानो मेरो गाउँ

पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ…’

हिमालको काखमा हुर्किएको ‘लाङ्टाङ भ्याली’ सुन्दर छ । त्यो भन्दा पनि सुन्दर हिउँजस्तै निर्मल र निश्चल मन भएका हिमाली जनजीवन अझै सुन्दर छन् । यहाँका बासिन्दाहरू एकातिर हिउँजस्तै मुस्कान लिएर मुस्कुराइरहेका छन् भने अर्कातिर जीवनका अनेक संघर्षलाई चट्टानजस्तै सहर्ष स्वीकार गर्न सक्षम छन् । लाङ्टाङ भ्यालीकी ५० वर्षीया फुर्पु शेर्पा भन्छिन्, ‘हामी हिमालीवासीहरू खुसी हुँदा हिमालझैँ हाँस्छौँ, दुस्ख पर्दा चट्टानझैँ जुध्न सक्छौँ । शेर्पालाई खुसी हुन धेरै ठूलो कुरा केही चाहिँदैन ।

हिमाली गाउँ हेर्न आउने पर्यटक देख्दा उनलाई खुसी लाग्छ । विशेषगरी आफ्नो छोराछोरीकै उमेरका युवा पर्यटक गाउँ आइपुग्दा उनी आफ्नै सन्तानजस्तै ठान्छिन् । ‘कहाँसम्म पुग्ने हो ?, आउनु, चिया खाउँ,’ भन्दै पर्यटकलाई बोलाउँछिन् । व्यापारका दृष्टिले हेर्दा यो ग्राहक बोलाउने सामान्य शैली हुनसक्छ तर फुर्पुका लागि भने पर्यटकसँगको आत्मीयता र सन्तानको सम्झनासँग जोडिएको भावनात्मक सम्बन्ध पनि हो ।

भूकम्पले परिवारका सदस्य गुमाएपछि एक्लै जीवनको जिम्मेवारी सम्हाल्दै आएकी छन् । चार सन्तानकी आमा उनी अहिले एक्लै छिन् । २०७२ को भूकम्पले ठूलो बज्रपात ल्यायो । भूकम्पमा उनले जेठो छोरा, छोरी र श्रीमान् गुमाउनुपर्यो । अहिले उनका दुई छोरीमध्ये एक छोरी क्यानडामा अध्ययनरत छन् भने अर्की छोरी काठमाडौंमा पढिरहेकी छन् ।

गाउँ आउन आग्रह गर्दा छोरीले ‘हेलिकप्टर पठाइदिनु, हिँडेर त आउँदिन’ भन्ने गरेको उनले सुनाइन् । छोरीको यस्तो जवाफ सम्झेर उनी एकछिन मुस्कुराउँछिन् । तर, त्यो हाँसोभित्र सन्तानसँगको भेटको प्रतीक्षा र कतै उनीहरूले आफूलाई बिर्सने हुन् कि भन्ने चिन्ता पनि लुकेको हुन्छ । ‘जिन्दगी के नै रहेछ र ?’, उनी छोटो वाक्यमा आफ्नो जीवनको पीडा पोख्छिन् ।

लाङ्टाङका ७२ वर्षे तेन्जेन लामा र उनकी ७० वर्षीया पत्नी याङ्जेन जाङ्डुम्पाको जीवन पनि देखेजस्तो सजिलो छैन । यहाँ बस्ने प्रत्येक व्यक्तिका आ-आफ्नै कथा छन् । जसमध्ये लामा दम्पतीको कथा रोचक छ । उनीहरूका एक छोरा र तीन छोरी छन् । दुई छोरी र छोरा बुहारी अमेरिकामा छन् । सन्तान विदेशमा भए पनि उनीहरूको मन भने आफ्नै गाउँ र हिमालसँग जोडिएको छ ।

लाङ्टाङमा अहिलेसम्म सहज सडक पहुँच छैन । दैनिक उपभोग्य सामग्रीसमेत कठिनाइका साथ ढुवानी गर्नुपर्छ । बजारमा दुई हजार ५०० पर्ने चामल गाउँसम्म ल्याउँदा ढुवानी खर्च जोडिएर पाँच हजारसम्म पर्ने स्थानीय बताउँछन् । खाद्यान्नदेखि निर्माण सामग्रीसम्म महँगो मूल्य तिर्नुपर्ने बाध्यता यहाँका बासिन्दाले भोगिरहेका छन् । त्यसमाथि लाङ्टाङ राष्ट्रिय निकुञ्चभित्र पर्ने भएकाले स्थानीयले विभिन्न शुल्क र नियमको भारसमेत व्यहोर्नुपरेको गुनासो गर्छन् ।

विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार र नेपाली पर्यटकबाट प्रतिव्यक्ति एक सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । पर्यटकबाट शुल्क उठाइए पनि पदमार्ग, फोहर व्यवस्थापन र स्थानीय पूर्वाधार सुधारमा त्यसअनुसार काम नभएको स्थानीयको गुनासो छ । प्रकृतिले मन खोलेर दिएको सौन्दर्यका बीच लाङ्टाङवासीको दैनिकी भने सहज छैन । पर्यटकको आगमनबाट जीविका चलाउने यहाँका बासिन्दा बाटो, स्वास्थ्य सेवा, खाद्यान्न ढुवानी र पर्यटन व्यवस्थापनको अभावसँग जुधिरहेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने लाङ्टाङ उपत्यका नेपालको लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक हो । सगरमाथा र अन्नपूर्णपछि चर्चामा आउने लाङ्टाङमा हिमाली दृश्य, स्थानीय तामाङ तथा शेर्पा समुदायको संस्कृति र मौलिक जीवनशैली हेर्न बर्सेनि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् तर पर्यटकलाई लोभ्याउने यही गन्तव्यसम्म पुग्ने बाटो र त्यहाँको आधारभूत सेवा भने अझै व्यवस्थित हुनसकेको छैन ।

ठूलो स्याफ्रुस्थित नमस्ते होटलका सञ्चालक कर्मा लामाका अनुसार लाङ्टाङ नाम रहनुका पछाडि स्थानीय जनविश्वासमा आधारित रोचक किंवदन्ती छ । उनका अनुसार पहिले तिब्बतबाट एउटा जनावर गोठालोसँगै भागेर आएको थियो । गोठालाले फर्काउन खोज्दा पनि नमानेपछि किलाले बाँधेर राखिएको र पछि किला फुकाएर भागेको उक्त जनावरलाई धेरै दुस्ख दिएको भन्दै गोठालाले हतियार प्रहार गरी मारेको स्थानीयको भनाइ छ । त्यसपछि त्यस स्थानको नाम लाङ्टाङ रहन गएको जनविश्वास रहेको उनले बताए । यस्ता किंवदन्ती र स्थानीय संस्कृति लाङ्टाङको पर्यटकका थप आर्कषण हुन् । यद्यपि प्राकृतिक एवं सांस्कृतिक सम्पदाको प्रचार र संरक्षणसँगै यहाँका बासिन्दाको जीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन ।

बिरामी पर्दा हेलिकप्टरको भर

हिमाली जीवनको अर्को ठूलो चुनौती स्वास्थ्य सेवा हो । सामान्य अवस्थामा जसोतसो जीवन चलाए पनि बिरामी पर्दा उपचारका लागि अस्पताल पुग्ने चिन्ताले स्थानीयलाई सताउने गरेको छ । ‘अरु बेला त जसोतसो चलेको छ, बिरामी पर्दा उपचार नपाइने डरले सताउँछ,’ फुर्पु शेर्पा भन्छिन्, ‘बिरामी भए हेलिकप्टरबिना अस्पताल पुग्न सकिँदैन । हेलिकप्टरको व्यवस्था गर्न बैंक खातामा तीन लाखदेखि पाँच लाखसम्म जम्मा भएकै हुनुपर्छ ।‘ आपतकालीन अवस्थामा हेलिकप्टर नै एकमात्र विकल्पजस्तो बन्नु यहाँको स्वास्थ्य सेवाको कमजोर पहुँचको चित्र हो ।

आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो खर्च जुटाउनु झन् कठिन हुन्छ । पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनिएको लाङ्टाङमा स्थानीयले सामान्य स्वास्थ्योपचारका लागि समेत ठूलो आर्थिक जोखिम मोल्नुपर्ने अवस्था छ ।

बाढीपछि घट्यो पर्यटकको चहलपहल

२०७२ सालको भूकम्पले तहसनहस भएको लाङ्टाङ विस्तारै पुनस् उठ्दै थियो । त्यसपछि भोटेकोशी नदीको बाढीले स्याफ्रुबेँसी क्षेत्रमा क्षति पुर्‍याएपछि पर्यटन गतिविधिमा थप असर परेको स्थानीय व्यवसायी बताउँछन् । ओर्जिनल लामा होटलका सञ्चालक राजु गुरुङका अनुसार बाढीपछि स्याफ्रुबेँसी हुँदै पदयात्रा प्रभावित भएको छ । त्यसको असर लाङ्टाङ आउने पर्यटकको संख्यामा कमी आएको छ । ‘पहिला नेपाली पर्यटनको पनि आकर्षणको केन्द्र थियो । अहिले पर्यटकको संख्या निकै घटेको छ,’ उनले भने ।

उनका अनुसार बाढीका कारण पुरानो पदमार्ग प्रयोग गर्न कठिन भएपछि पर्यटकले अहिले ठूलो स्याफ्रु हुँदै यात्रा सुरु गर्नुपर्ने अवस्था छ । पदयात्राको मार्ग परिवर्तन हुँदा पर्यटकलाई आवतजावतमा थप कठिनाइ भएको छ । यसले होटल, रेष्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा निर्भर स्थानीयको आम्दानीसमेत प्रभावित बनाएको छ । लाङ्टाङमा होटल व्यवसाय सञ्चालन गर्ने सोनाम शेर्पा न निकुञ्जले वार्षिक रु चार लाख लिने गरेको बताउँछन् ।

पर्यटन व्यवसायबाट आम्दानी गर्न खोज्ने स्थानीयले महँगो शुल्क तिर्नुपरे पनि पदमार्गको अवस्था र व्यवस्थापनमा सुधार नदेखिएको उनको गुनासो छ । त्यस्तै केन्जिङ गुम्बाका २७ वर्षीय पेम्बा तामाङका अनुसार उक्त क्षेत्रमा करिब ३० घर छन् । स्थानीयले आफ्नै प्रयासमा पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउँदै आएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका-४ का जनप्रतिनिधि लाक्पा तेन्जिङ तामाङ लाङ्टाङ भ्याली पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि तीनै तहका सरकारले प्राथमिकता दिन नसकेको बताउँछन् । स्थानीयले भत्किएको पदमार्ग आफ्नै बलबुतामा मर्मत गरेर पर्यटकलाई गाउँसम्म ल्याउने प्रयास गरिरहेको उनले सुनाए । ‘निकुञ्जको भालुले हामीलाई खायो भने पाँच लाख क्षतिपूर्तिमा चित्त बुझाउनुपर्छ । यदि हामीले ज्यान जोगाउन प्रतिकार गर्दा भालु मर्यो भने आजीवन कैदी बन्नुपर्छ,’ उनले भने, ‘के गर्नु ? हाम्रो मूल्य जनावरको जति पनि छैन ।’

प्रचुर सम्भावना, व्यवस्थापन कमजोर

लाङ्टाङ उपत्यकाको अर्को चुनौती पदमार्गको अवस्था र फोहर व्यवस्थापन हो । यात्राका क्रममा निकुञ्ज क्षेत्र पार गर्दै लाङ्टाङ भ्याली पुग्दासम्म फोहर संकलन गर्ने डस्टबिन देखिँदैनन् । कतिपय स्थानमा ठूला पहिरो खसेका छन् । जोखिमपूर्ण बाटो हुँदै पर्यटकले यात्रा गर्नुपर्ने अवस्था छ । तिहारको समयमा लाङ्टाङ पदयात्रामा पुगेका स्याङजाका प्रविन न्यौपानका अनुसार पर्यटकको आकर्षण गन्तव्य भए पनि यहाँ सुरक्षित र व्यवस्थित पदमार्ग बनाउन खासै ध्यान नदिएको गुनासो गरे । उनले भने, ‘यति सुन्दर ठाउँ छ, फोहर व्यवस्थापन र पदमार्ग व्यवस्थित नुहँदा दुस्ख लाग्यो ।’ नमस्ते होटलका सञ्चालक कर्मा लामा भन्छन्, ‘नेपालीले सफा गर्ने हो भने पदमार्ग फोहर हुँदैन ।’

काठमाडौंबाट करिब ६ देखि ७ घण्टाको बस यात्रापछि ठूलो स्याफ्रु पुगेर लाङ्टाङ पदयात्रा सुरु गर्न सकिन्छ । क्यान्जिन गुम्बा यस क्षेत्रको प्रमुख आर्कषण हो । त्यहाँबाट करिब चार हजार ९८४ मिटर उचाइमा रहेको ‘त्सेर्को री’ पुगेर वरिपरिका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । हिमाल, हिमनदी, पहाड र उपत्यकाको प्राकृतिक दृश्यसँगै तामाङ तथा शेर्पा समुदायको संस्कृति, परम्परा र जीवनशैलीले लाङ्टाङलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाएको छ । स्थानीय संस्कृति बुझ्न, हिमाली जनजीवन अनुभव गर्न र पदयात्रामा रमाउन चाहने पर्यटकका लागि यो क्षेत्र विशेष आकर्षणको केन्द्र हो ।

नेपाल पर्यटन बोर्डको पदयात्रा गन्तव्यसम्बन्धी वर्गीकरणमा लाङ्टाङलाई सगरमाथा र अन्नपूर्णपछि चर्चित पदयात्रा क्षेत्रका रूपमा लिने गरिन्छ । यसको वास्तविक सम्भावना उपयोग गर्न पदमार्गको स्तरोन्नति, सुरक्षित आवागमन, स्वास्थ्य सेवाको पहुँच, खाद्यान्न ढुवानीको सहजता र फोहर व्यवस्थापनमा लगानी आवश्यक देखिन्छ । रासस