• Menu

मेची भन्सार कार्यालयद्वारा एक अर्ब ३५ करोड राजस्व संकलन

नेपाल प्रफिट

२०८३ मंसिर ९, बुधबार १२:११

मेची भन्सार कार्यालयद्वारा एक अर्ब ३५ करोड राजस्व संकलन

झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व संकलन लक्ष्यभन्दा १० प्रतिशत बढी गरेको छ ।

कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा एक अर्ब ३५ करोड १३ लाख ९६ हजार राजस्व संकलन भएको छ । उक्त महिनाका लागि एक अर्ब २३ करोड लक्ष्य निर्धारण गरिएकामा लक्ष्यको ११० प्रतिशत राजस्व संकलन भएको हो ।

चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा भने कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन । साउनमा एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार संकलन भएको थियो ।

त्यस्तै, भदौमा एक अर्ब ६४ करोड लक्ष्य रहेकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार र असोजमा एक अर्ब ८४ करोड ५० लाख लक्ष्य रहेकामा एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

भारतको पश्चिम बङ्गालस्थित पानीट्याङ्कीसँग सीमा जोडिएको काँकडभिट्टा नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोसाक, सुपारी, सिमेन्टको क्लिङ्कर, सुती कपडा, खरानी, फलामजन्य अवशेष, चामल, कनिका, ग्लेज टायल, स्नेहक तेल, मोबिल, मोटरका ब्याट्री र प्लास्टिकका ट्युब आयात हुने गरेका छन् ।

यस नाकाबाट भारत, चीन, बंगलादेश, भूटानलगायत मुलुकसँग व्यापार हुने गरेको छ । यहाँबाट चिया, अलैँची, अदुवा, अम्लिसो, मुसुरो दाल, भेनियर सिट, चोकर, आलस, खयरको कत्था, जडीबुटी, फलामे संरचना, सुठो र प्लाइउड निर्यात हुने गरेको छ । रासस