एजेन्सी । बंगलादेशका गार्मेन्ट उद्योगका कामदारको न्यूनतम मासिक ज्याला ३६ प्रतिशतले वृद्धि गर्ने सहमति भएको छ । बुधबार भएको सम्झौताअनुसार कामदारको न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर १७ हजार टाका पुर्याइएको हो ।
चीनपछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बंगलादेशमा अक्टोबरदेखि कामदारले तलब वृद्धिको माग गर्दै व्यापक प्रदर्शन गर्दै आएका थिए । सम्झौतापछि मजदुर प्रतिनिधिहरूले कामदारलाई काममा फर्कन आग्रह गरेका छन् ।
मजदुर प्रतिनिधि बाबुल अख्तरले आफूहरू सम्झौताबाट पूर्ण सन्तुष्ट नभए पनि यो पूर्णतः नराम्रो नभएको बताए । उनका अनुसार यसअघि प्रत्येक पाँच वर्षमा ज्याला पुनरावलोकन हुने गरेकामा यसपटक तीन वर्षमै वृद्धि भएको हो ।
कामदारले सुरुमा न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका अर्थात् करिब २४० अमेरिकी डलर पुर्याउन माग गरेका थिए । खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवामा बढ्दो खर्च धान्न विद्यमान तलब अपर्याप्त रहेको उनीहरूको भनाइ थियो ।
सरकारद्वारा गठित गार्मेन्ट उद्योगको ज्याला बोर्डका अध्यक्ष न्यायाधीश सैयद आजाद सुभानीले बुधबार बिहान भएको मतदानमा बहुमतले १७ हजार टाकाको न्यूनतम ज्याला प्रस्तावलाई समर्थन गरेको जानकारी दिए । नयाँ ज्याला करिब १३९ अमेरिकी डलर बराबर हुनेछ ।
बंगलादेश गार्मेन्ट उत्पादक तथा निर्यातकर्ता संघका अनुसार विरोध प्रदर्शनका कारण उद्योगले करिब चार करोड २८ लाख अमेरिकी डलर बराबरको नोक्सानी बेहोरेको छ । त्यस्तै, दुई करोड ५४ लाख अमेरिकी डलर बराबरका अर्डर अन्य देशमा स्थानान्तरण भएका छन् ।
क्रिसमसको व्यस्त व्यापारिक मौसम नजिकिँदै गर्दा भएको अवरोधले उद्योगलाई थप असर पुर्याएको छ ।
फ्रुट अफ द लुम र लेवी स्ट्रसजस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डलाई कपडा आपूर्ति गर्दै आएको बंगलादेशको गार्मेन्ट उद्योगबाट वार्षिक करिब तीन हजार ८०० करोड अमेरिकी डलर आम्दानी हुने गरेको छ । यस उद्योगले देशको कुल निर्यात आम्दानीको करिब ८० प्रतिशत हिस्सा ओगट्दै आएको छ ।