म्याग्दी । हुरीबतासका कारण म्याग्दी भएर मुस्ताङमा आपूर्ति हुने केन्द्रीय प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत अवरुद्ध बनेको छ ।
म्याग्दीको दानादेखि मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोबाङ खण्डमा मंगलबारको हुरीबतासले विद्युतका पोल ढलाएको र तार चुडिँदा ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत मुस्ताङ जिल्लाभर आपूर्ति हुने विद्युत सेवा अवरुद्ध बनेको हो । विद्युत अभावमा पर्यटकीय जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ ।
मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको १, २, ३ र ४ नं वडामा विद्युत आपूर्ति तथा वितरण गर्दै आएको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँले हुरीबतासले क्षति पुर्याएको लाइन मर्मतको काम भइरहेको जानकारी दिए ।
काभ्रेदेखि घाँसा खण्डको जंगल क्षेत्रमा मंगलबार साँझसम्म लाइन मर्मतका लागि खटिएका प्राधिकरणका प्राविधिक र मजदुरको टोलीले आज पनि बिहानैदेखि निरन्तरता दिएको उनले बताए । हुरीबतासका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना, नारच्याङ, भुरुङ-तातोपानी, शिख र घारमा सुन्तलाको दाना झारेर क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिका-३ का वडासदस्य दुर्गादत्त सुवेदीले बताए । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार नारच्याङमा एक र काभ्रे गाउँमा तीनवटा घरको छानो हुरीबतासले उडाएको छ ।
जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम् ४.१ मिटरको गतिमा हावा मापन गरिएको छ ।