• Menu

राप्तीसोनारीका भित्री सडक कालोपत्र भएपछि स्थानीय दंग, बजार पुग्न सहज

नेपाल प्रफिट

२०८३ मंसिर ९, बुधबार १६:४३

राप्तीसोनारीका भित्री सडक कालोपत्र भएपछि स्थानीय दंग, बजार पुग्न सहज

बाँके । जिल्लाको राप्तीसोनारी गाउँपालिकाका भित्री ग्राभेल सडक कालोपत्र भएपछि स्थानीय खुसी भएको पाइएको छ ।

दुर्गम मानिने गाउँका सडक कालोपत्र भएपछि गाउँ र बजारबीचको दूरी कम भएको स्थानीय देवदास चौधरीले जानकारी दिए । ती कालोपत्रे सडकले मुख्य राजमार्ग र हुलाकी सडकलाई जोड्न सहज भएको उनको प्रतिक्रिया छ ।

स्थानीय चौधरीका अनुसार, गाउँ वा बजार आवतजावत गर्न सहज पहुँच भएको छ, सडक कालोपत्र भएपछि गाउँ पनि सुगम भएको महसुस भएको छ ।

उक्त गाउँपालिका-२ स्थित कचनापुर, टीकुलीपुर माथेबास टोललगायतका सडक कालोपत्र भएसँगै ती गाउँ प्रत्यक्ष रुपमा नेपालगन्ज र कोहलपुर बजारसँग जोडिन पुगेका हुन् ।

सडक कालोपत्र भएसँगै यातायातका साधनको पहुँच वृद्धि भएको तथा बिरामीलाई अस्पतालमा ल्याउन र  पुर्‍याउन  सहज भएको वडाध्यक्ष ज्ञानराज ओलीले प्रतिक्रिया दिए । उनका अनुसार  विगतमा हिँडेरै नेपालगन्ज पुग्ने गरेकोमा अहिले अटोमार्फत गाउँबाट बजार आवतजावत हुने गरेको छ ।

वडाध्यक्ष ओलीका अनुसार, सामुदायिक वनभित्र मात्रै करिब एक किलोमिटर ८०० मिटर ग्राभेल सडक कालोपत्र भएको छ । पछिल्लो समय स्थानीय कोटही सामुदायिक वन उपभोक्ता सूमह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्रका सडक कालोपत्र भएको छ ।

सडक कालोपत्र भएपछि  गाउँबाट उत्पादित तरकारी र अन्य बजार लगेर बेचबिखन गर्न स्थानीयलाई सहज भएको छ । पछिल्लो  समय यातायात र पूर्वाधार क्षेत्रमा भएको विकासले सहर र गाउँको दूरी कम हुँदै गएको अनुभव वडाध्यक्ष ओलीले सुनाए ।

सडकसँगै गाउँका कतिपय खोल्सामा निर्माण भएको पक्की पुलले कालोपत्र सडकलाई थप सुन्दर र स्थायित्व प्रदान गरेको छ । स्थानीय भगतराम थारुले विगतको तुलनामा सडक पूर्वाधारसँगै विद्युतीकरणले गाउँ र सहरबीचमा रहेको भिन्नता हटाएको छ । गाउँमा खानेपानी, सडक र विद्युतीकरण विस्तार भएसँगै आधारभूत आवश्यकता सम्बोधन गर्न सहज भएको छ । रासस