• Menu

अभिभावकविहीन बालबालिकालाई पारिवारिक हेरचाहमा प्राथमिकता दिनुपर्ने मन्त्री वादीको जोड

नेपाल प्रफिट

२०८३ मंसिर ९, बुधबार १३:५८

अभिभावकविहीन बालबालिकालाई पारिवारिक हेरचाहमा प्राथमिकता दिनुपर्ने मन्त्री वादीको जोड

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको हेरचाहमा संस्थागत व्यवस्थाभन्दा परिवारमा आधारित वैकल्पिक हेरचाह प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

राष्ट्रिय तथ्यांक कार्यालय र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को आयोजनामा बुधबार ललितपुरमा आयोजित बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी क्रियाकलापको अन्तर्राष्ट्रिय वर्गीकरण (आइकेयर) सम्बन्धी राष्ट्रिय अन्तरक्रियामा उनले बालबालिकाको सर्वोत्तम हित, भावनात्मक सुरक्षा र सर्वाङ्गीण विकासका लागि पारिवारिक वातावरण अपरिहार्य रहेको बताइन् ।

‘संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा सीमित गर्दै पारिवारिक पुनर्मिलन, नातेदारको हेरचाह र संरक्षित परिवारजस्ता परिवारमा आधारित वैकल्पिक हेरचाहलाई प्रवर्धन गर्नु नै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने दिगो र मानवीय मार्ग हो,’ उनले भनिन् ।

मन्त्री वादीले बालबालिकासम्बन्धी सूचना व्यवस्थापन प्रणाली र सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई स्थानीयकरण गरी प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्ने काम मन्त्रालयले अघि बढाएको जानकारी दिइन् ।

स्थानीय तहबाटै बालबालिकाको नियमित र यथार्थ तथ्यांक संकलन हुन सके राष्ट्रियस्तरमा उनीहरूको अवस्थाबारे स्पष्ट चित्र प्राप्त हुने उनको भनाइ थियो ।

आइकेयर वर्गीकरण प्रणालीले औपचारिक बालगृहदेखि नातेदारको हेरचाह, अनौपचारिक संरक्षण तथा अन्य वैकल्पिक हेरचाहका स्वरूपलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिभाषित र वर्गीकरण गर्ने भएकाले नेपालको सन्दर्भअनुकूल सूचक निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।