• Menu

सेयर बजार सामान्य अंकले बढ्यो

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार १५:३२

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं । सेयर बजार बुधबार सामान्य अंकले बढेको छ। मंगलबार ६.६२ अंकले बढेको नेप्से बुधबार १.४० अंकले बढेर २ हजार ६६५ अंकमा कायम भएको हो ।

बजारमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। त्यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

बुधबार अन्य समूह सबैभन्दा बढी ६.१८ प्रतिशतले बढेको छ। उक्त समूहमा सूचीकृत नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य उच्च दरले बढ्दा समग्र समूहमा सकारात्मक प्रभाव परेको हो।

सरकारी स्वामित्वको ठूलो हिस्सा रहेको नेपाल पुनर्बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न मन्त्रिपरिषद्ले निर्णय गरेसँगै कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सले पनि हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने निश्चित भएपछि कम्पनीको मूल्य ११.४८ प्रतिशतले बढेको छ।

अन्य समूहसँगै व्यापार समूह १.११ प्रतिशत र जीवन बिमा समूह ०.१० प्रतिशतले बढेका छन्। बाँकी अधिकांश समूह भने घटेका छन्।

बैंकिङ समूह ०.८२ प्रतिशत, विकास बैंक ०.४४ प्रतिशत, वित्त ०.८२ प्रतिशत, होटल तथा पर्यटन ०.७४ प्रतिशत, जलविद्युत ०.६८ प्रतिशत, लगानी ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२८ प्रतिशत, लघुवित्त ०.२० प्रतिशत र निर्जीवन बिमा समूह ०.१३ प्रतिशतले घटेका छन्।

आज नेपाल र हिमालयन पुनर्बीमा कम्पनीसँगै श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ८.६५ प्रतिशत, घोराही सिमेन्टको ५ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ४.९७ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको ४.४२ प्रतिशतले बढेको छ।

त्यस्तै, शिखर पावरको सेयर मूल्य ३.७४ प्रतिशत, सीवाईसी लघुवित्तको ३.३४ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.२६ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज श्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक अग्रस्थानमा रहेका छन्।