एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको दैनिक मापदण्डभन्दा ३० गुणाभन्दा बढी पुगेको छ। बुधबार दिल्लीका केही क्षेत्रमा पीएम २.५ को मात्रा प्रतिघनमिटर ४६१ माइक्रोग्राम नाघेको वायु गुणस्तर अनुगमन संस्था आइक्युएयरले जनाएको छ।
दीपावली नजिकिँदै गर्दा आतसबाजीका कारण प्रदूषण थप बढ्ने चिन्ता व्यक्त गरिएको छ। प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले सवारीसाधन सञ्चालन तथा निर्माण कार्यमा प्रतिबन्ध कडा पारे पनि त्यसको तीन दिनपछि नै वायु प्रदूषणको स्तर थप बढेको हो। भारतको सर्वोच्च अदालतले भने दीपावलीका अवसरमा सीमित मात्रामा हरित पटाका प्रयोग गर्न अनुमति दिएको छ।
भारतको वातावरण मन्त्रालयका अनुसार दिल्लीमा जाडोयाममा हुने वायु प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत, जैविक पदार्थ जलाउने कार्यको २० प्रतिशत र औद्योगिक क्षेत्रको करिब नौ प्रतिशत रहेको छ। त्यस्तै, विभिन्न ग्यासबीच हुने रासायनिक प्रतिक्रियाबाट उत्पन्न माध्यमिक कणले कुल प्रदूषणको २७ प्रतिशत हिस्सा ओगटेको छ।
विज्ञ ज्याकोब कोशीका अनुसार दिल्ली आसपासका खेतमा प्रयोग हुने मलबाट निस्कने अमोनियाले पनि माध्यमिक कण निर्माणमा योगदान पुर्याउँछ। अमोनियाले अन्य प्रदूषकसँग रासायनिक प्रतिक्रिया गर्दा वायु प्रदूषणको समस्या थप जटिल बन्ने उनको भनाइ छ।
वायु प्रदूषणको असर भारतमा गम्भीर देखिएको छ। ‘द ल्यान्सेट प्लानेटरी हेल्थ’ जर्नलमा सन् २०२४ मा प्रकाशित अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको थियो।
दीपावलीका समयमा हुने आतसबाजी, सवारीसाधनको धुवाँ, औद्योगिक उत्सर्जन तथा कृषि अवशेष जलाउने गतिविधिले दिल्लीको वायु गुणस्तरमा थप दबाब सिर्जना गर्ने देखिएको छ।