• Menu

नाडा अटोमोबाइल्सद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार १५:२५

नाडा अटोमोबाइल्सद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

आज मिति २०८३ कात्तिक १८ गते बुधबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडाका समसामयिक विषयमा छलफल गरेको हो।

उक्त भेटका क्रममा नाडाका अध्यक्ष उप्रेतीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका थिए।

नाडाले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपद् तथा विभिन्न आपत्कालीन परिस्थितिमा सम्बन्धित संघ–संस्था तथा सरकारी निकायहरूलाई आवश्यकताअनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ।

यस्ता सहयोगात्मक गतिविधिले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायहरूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास नाडाले व्यक्त गरेको छ।

उक्त भेटघाट तथा सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यहरू दीपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

नाडाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिँदै सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।