काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूलाई समितिमा विचाराधीन विधेयकहरू तीव्र गतिमा अघि बढाउन आग्रह गरेका छन्।
समसामयिक विषयमा समितिका सभापतिहरूसँग भएको छलफलका क्रममा सभामुख अर्यालले विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका हुन्।
उनले विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि सभापतिहरूलाई प्रोत्साहित गरे।
‘विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र प्रक्रियाको पालना गर्नुपर्छ। सम्बन्धित दल तथा विषयविज्ञहरूसँग आवश्यक छलफल गरी औचित्यपूर्ण संशोधन प्रस्ताव राख्नुहोस्,’ सभामुख अर्यालले भने।
उनले विधेयकहरूमाथि गहन र घनीभूत छलफल गर्दै समितिको कामकारबाहीलाई प्रभावकारी, व्यवस्थित तथा परिणाममुखी बनाउनसमेत आग्रह गरे।
समितिहरूमा हुने छलफललाई प्रभावकारी बनाउँदै विधेयक निर्माण प्रक्रियालाई गति दिनुपर्नेमा सभामुख अर्यालले जोड दिएका छन्।