• Menu

स्वास्थ्यमन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार १५:४९

स्वास्थ्यमन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेकी छन् ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-जापान द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।

भेटका क्रममा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाहरूमा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

त्यसैगरी, उनले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा जापान सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन् ।

भेटमा जापानी राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल र जापानबीच स्वास्थ्य सेवा, प्राविधिक सहयोग तथा स्वास्थ्य पूर्वाधार विकासका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा समेत भेटवार्ताले सकारात्मक आधार तयार गरेको छ।