काठमाडौँ । बडादसैंको मुख्य दिन विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । आफन्तले घरआँगन भरिने दिन । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका थिए, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका थिए । कतै पिङमा रमाइरहेका थिए । भेटघाट र मीठोमसिनो खाने पर्व दसैँ धेरैका लागि उमंगको पर्व बन्यो । गाउँबस्ती र सहरका टोल–टोलमा दसैँका गीत गुन्जिए ।
‘आउँथ्यो दसैं आउन त पहिला नि,
यस्तो मज्जा भा’थे’न कहिल्यै नि…’
गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको यो गीतमा ‘लिपसिङ’ मिलाउँदै टिकटकमा रमाउनेहरू कम थिएनन् ।
तर, ठिक यसको उल्टो, ‘यस्तो नमज्जा कहिल्यै भएको थिएन’ भन्ने अवस्था यसपालि भोटेकोशी बाढीपीडितले भोग्नुपरेको छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण घरबार गुमाएका र आफन्त गुमाउनेहरूका लागि यस वर्षको दसैंजस्तो पीडादायी दसैं सायद पहिला कहिल्यै भएन होला ।
कसैका निधारमा दसैंको रातो टीका टल्किरहँदा कतै भने प्रियजनको सम्झनाले आँखा रसाएका छन् । कतै आफन्तको हातबाट टीका जमरा लगाउँदै आशीर्वाद लिन भ्याइनभ्याई थियो । तर, आशीर्वाद दिने आफन्त नै बाढीले बगाएपछि कतिपय पीडामै थिए ।
बाढीका कारण बेपत्ता हुने आफन्त कहीँकतैबाट फर्की आउने पो हुन् कि भन्ने प्रतीक्षा गर्न पनि छाडेको छैन मन । कतै घरमा दसैँको रौनक छ, कसैको घर नै छैन । कतै गाउँमा रमझम बढिरहेको बेलामा कतै गाउँ नै बगर बनेको छ ।
विनाशकारी बाढीले घरबार र सम्पत्तिमात्र बगाएन, परिवारका सदस्य र आफन्त नै बगायो । वर्षदिनमा एकपटक आउने दसैँले उनीहरूको मनमा खुसी फर्काउन सकेन ।
नुवाकोटको विदुर नगरपालिका–१० का अध्यक्ष गणेशकुमार नेपाललाई यस वर्षको दसैँले विगतका वर्षभन्दा बढी पीडा दिएको छ । बाढीले प्रभावित परिवारका घर, सम्पत्ति र आफन्त खोसिएका छन् । यस्तो अवस्थामा टीका लगाउने र उत्सव मनाउने कुरा उनीहरूका लागि निकै परको विषय बनेको छ ।
‘यहाँ न बस्ने घर छ, न अलिअलि गरेर जोडेको सम्पत्ति छ, न आफ्ना प्रियजन छन् । दसैँमा टीका लगाउने त कुरै भएन,’ मलिन मुद्रामा उनले भने, ‘टीका लगाउन मिल्नेहरूलाई पनि खुसी छैन । सामाजिक सञ्जालमा देखिने तस्बिरले मात्रै दसैँ आएछ भन्ने थाहा हुन्छ । यहाँ त केही छैन् । दसैँ आएको हो कि होइन भन्ने पत्तै हुँदैन ।’
दसैँमा घर फर्किने, आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाने चाहना सबैको हुन्छ । तर, घर नै नरहेपछि र आफ्ना मान्छे नै गुमाएपछि पर्वको अर्थसमेत फेरिएको महसुस भएको छ वडाअध्यक्ष नेपाललाई । अरूका घरमा टीका र जमराको रौनक देख्दा आफ्नै विगत सम्झिएर उनको मन भक्कानिएको छ ।
विदुर नगरपालिकाकै वडा नं ११ मा बाढीको प्रत्यक्ष प्रभाव खासै परेन । तर, छिमेकी वडाका बासिन्दाले भोगेको पीडाले त्यहाँका स्थानीयको मन पनि दुखाएको छ । आफ्नो घर सुरक्षित रहेपनि छिमेकीको घर उजाडिएको र आफन्त गुमाएको दृश्यले दसैँको उत्साह घटाएको वडाध्यक्ष बाबुराम तामाङले बताए ।
‘गत वर्ष पिङ खेल्ने, बाजा बजाउने, नाचगान गर्ने, आफन्त भेट्ने, मिठा खाने र राम्रा लुगा लगाउने गरिन्थ्यो । दसैँको रौनक नै अर्कै हुन्थ्यो,’ उनी भन्छन्, ‘यस वर्ष त छिमेकीलाई परेको पीडा देखेर हाम्रोमा पनि दसैँको उत्साह छैन ।’
दसैँ आफन्तसँगको भेटघाट र आपसी सद्भावको पर्व हो । त्यसैले आफ्नो छिमेकीको आँसु देखेर रमाउन सकिँदैन । यस वर्ष विदुर–११ का बासिन्दाले पनि त्यही अनुभूति गरिरहेका छन् । बाढीले प्रत्यक्ष क्षति नपुर्याएको बस्तीमा समेत दसैँको उल्लास पहिले झैँ फर्किन सकेको छैन ।
रसुवाको उत्तरगया गाउँपालिका–५ का बासिन्दा बासुदेव लामिछानेले जीवनका ६ दशक पार गरिसक्दा पनि अहिलेको जस्तो पीडादायी दसैँ कहिल्यै अनुभव गरेका थिएनन् । बाढीले आफन्त र गाउँले गुम्यो । उहाँको सम्पत्ति बगायो । गाउँले र आफन्तसँगको पुरानो सामीप्य पनि बाढीसँगै हराएको छ ।
‘आफ्नो सम्पत्ति सबै बगायो । आफन्त छैनन्, गाउँले छैनन् । दुई महिना बित्न लाग्दा पनि हामी शोकमै छौँ,’ उनी भन्छन्, ‘ओहो ! आज टीका पो रहेछ भन्ने लाग्छ । दसैँ आएको हो कि गएको हो, त्यसको महत्त्व नै छैन ।’
विगतका वर्षमा दसैँ नजिकिँदै गर्दा घरआँगन सफा गर्ने, नयाँ लुगा किन्ने, आफन्तलाई बोलाउने र टीकाको तयारी गर्ने चटारो हुन्थ्यो । यस वर्ष भने लामिछानेका लागि ती सबै सम्झनामा सीमित भयो । उहाँलाई आफ्नो ठाउँमा फेरि पहिलेजस्तै रमझमसहित दसैँ फर्किएला कि नफर्किएला भन्ने चिन्ताले पनि सताएको छ ।
उत्तरगया गाउँपालिकाकै सपना तामाङलाई पनि यसपटक दसैँ आएको अनुभूतिसमेत हुन सकेको छैन । विगतमा खुसी र उल्लास बोकेर घरभित्रिने दसैँ यस वर्ष पीडा र बिछोडका सम्झना लिएर आएको उनको अनुभव छ । चाडपर्वले विगतका सुखद क्षण सम्झाउँछन् तर त्यही सम्झनाले प्रियजन गुमाएकाहरूको घाउ थप बल्झाउँछ ।
बाढीमा प्रत्यक्ष परेका परिवारको पीडा आफ्नै ठाउँमा छ । तर, घर सुरक्षित रहेकाहरूका लागि पनि यस वर्षको दसैँ सहज छैन । कुनै समय सँगै चाडपर्व मनाएका छिमेकी नहुँदा गाउँबस्ती नै सुनसान बनेको छ । एकै ठाउँमा हुर्किएका, दुःखसुख साटेका र वर्षौंदेखि दसैँमा भेटघाट गर्दै आएका मानिसहरू नहुँदा चाडको रौनक हराएको छ ।
गोरखाको पालुङटार नगरपालिका–५ मा पनि यस वर्ष विगतका दसैँमा जस्तो चहलपहल छैन । घरआँगनमा आफन्त भेला हुने र गाउँमा चाडपर्वको उल्लास छाउने क्रम कमजोर बनेको छ । बाढीले यहाँका ३० जना छिमेकीको ज्यान लिएपछि गाउँलेहरू अझै शोकबाट बाहिर निस्कन सकेका छैनन् ।
रसुवाको गोसाइँकुण्ड यात्राका लागि ३६ यात्रु बोकेर गएको ग २ ख ११५२ नम्बरको पृथ्वी यातायातको बस बाढीमा बग्दा ६ जना मात्रै सकुशल रहेका थिए । एउटै घटनामा ठूलो संख्यामा छिमेकी गुमाउनुपर्दाको पीडा पालुङटार–५ का बासिन्दाका लागि अझै ताजा छ ।
यस वर्ष गाउँमा दसैँको टीका थाप्ने, जमरा लगाउने र आफन्तसँग भेटघाट गर्ने चहलपहल नभएको बताउँछन् सोही वडाका वडाध्यक्ष दीपक पाण्डे । ‘यसपटक पहिलाको जस्तो दसैँको टीका थाप्ने, जमरा लगाउने र आफन्त भेटघाटको चहलपहल नै छैन,’ उनले भने ।
दसैँमा गाउँ फर्किनेहरूका लागि घर मात्र गन्तव्य हुँदैन, त्यहाँ भेटिने आफन्त, छिमेकी र साथीभाइ पनि उत्तिकै प्रिय हुन्छन् । तर, यसपटक पालुङटारका धेरै बासिन्दाका लागि घरमै बसेर पनि आफ्ना मान्छे भेट्न पाउने अवस्था छैन । सँगै दसैँ मनाउनेहरू नै नरहेपछि चाडपर्वको खुसी नै छैन ।
दसैँको टीका निधारमा लगाइने रङ मात्रै नभएर आफन्तबीचको सम्बन्ध, माया र आशिर्वादको प्रतीक पनि हो । त्यसैले प्रियजन गुमाएका परिवारका लागि टीका र जमराभन्दा उनीहरूसँग बिताएका पुराना क्षणको सम्झना बढी गहिरो बनेको छ ।
एकातिर देशभर दसैँको रौनक छ । सामाजिक सञ्जालमा टीका र जमराका तस्बिर छरिएका छन् । अर्कातिर, बाढी प्रभावित बस्तीका धेरै घरमा शोकको सन्नाटा छ । उनीहरूका लागि यसपटक दसैँ आएको छ तर दसैँको खुसी आएको छैन । यस वर्षको दसैँले यही फरक फरक अनुभूति उजागर गरेको छ- कतै रौनक छ, कतै सुनसान ।
(रासस)
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal