मकवापुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन् ।
विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले हाम्रा चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता एवं राष्ट्रिय पहिचानका धरोहर भएको बताए ।
विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वहरूले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएको उनले बताए । यी पर्वहरूले समाजमा प्रेम, सहयोग, सद्भाव र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने सन्देशमा भनिएको छ ।
यस वर्षका चाडपर्व मनाइरहँदा प्राकृतिक विपद्का कारण उत्पन्न पीडा र कठिनाइलाई पनि आफूहरुले गम्भीरतापूर्वक स्मरण गर्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले विशेषगरी भोटेकोसी तथा बूढीगण्डकीमा आएको बाढीका कारण नागरिकहरूको पीडाले सबैलाई मर्माहत बनाएको बताए ।
विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनले प्रभावितहरूको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको बताए ।
प्रदेश सरकार विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन प्रतिबद्ध रहेको सन्देशमा भनिएको छ । रासस