हुम्ला । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।
गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि मात्रै मर्मत गर्न सकिने उनले बताए ।
टावरमा समस्याका कारण मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।
अदानचुली गाउँपालिका-४ का वडासदस्य सिंह बोहराले टेलिकमका कर्मचारीलाई पटक-पटक फोन गरेर समस्या समाधानका लागि आग्रह गरिएको बताए । सञ्चार सेवा अवरुद्ध हुँदा दसैँमा घर आउने-जाने आफन्तसँग सम्पर्क गर्न तथा रकम पठाउनसमेत समस्या भएको उनले बताए ।
भौगोलिक विकटताका कारण अन्य सञ्चार माध्यमको विकल्पसमेत सहज नभएका यी क्षेत्रका नागरिकलाई टेलिकमको सेवा बन्द हुँदा थप सास्ती भएको छ । रासस