• Menu

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

नेपाल प्रफिट

२०८३ कात्तिक ३, मंगलबार १५:५८

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व संकलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आवमा २१ करोड ६९ लाख ९७ हजार ५०० संकलन भएको थियो । उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १८ सय ५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० डलर र एकदिन भ्रमण गरेका २५ सय ६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर संकलन भएको आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए ।

त्यस्तै सात दिनको भ्रमण अनुमति लिएर मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका १३ सय ३८ जना पर्यटकबाट प्रतिव्यक्ति सय डलरका दरले प्रवेश शुल्क उठेको हो । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत संकलन हुने गरेको छ । अध्यागमन कार्यालयमार्फत उठ्ने निषेधित क्षेत्रको प्रवेश शुल्क संघ सरकारको राजस्वमा जाने गरेको आयोजना प्रमुख डा कडरियाले बताए ।

निषेधित क्षेत्रको भ्रमण गरेका विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत आव २०८१/०८२ मा ३० करोड १७ लाख ५२ हजार, आव २०८०/०८१ मा २३ करोड ८९ लाख ६६ हजार राजस्व संकल भएको थियो । सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका छन् । निषेधित क्षेत्रबाहेक अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गरेका विदेशी पर्यटकबाट गत आवमा ६७ करोड ७५ लाख ९० हजार ९८६ राजस्व संकलन भएको आयोजना प्रमुख डा. कडरियाले जानकारी दिए ।

आयोजना कार्यालयले दक्षिण एसियाली मुलुकका पर्यटकबाट रु एक हजार र अन्य मुलुकका पर्यटकबाट तीन हजार (भ्याटसहित) प्रवेश शुल्क लिने गरेको छ । गत आवमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएपछि प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको हो ।

गत आवमा दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार १४५ र अन्य मुलुकका एक लाख २४ हजार ३३१ रहेका छन् गरी कूल पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।

तीमध्ये सबैभन्दा बढी तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटक थिए । पर्यटक संख्यासँगै पर्यटक शुल्कबाट उठ्ने रकम पनि गत आवमा अहिलेसम्मकै सबैभन्दा धेरै संकलन भएको हो । आव २०८१/०८२ मा पर्यटकको प्रवेश शुल्कबापत जम्मा ४६ करोड ४८ लाख ८१ हजार ४८४ संकलन भएको थियो ।

आव २०८०/०८१ मा ३८ करोड ९४ लाख ६१ हजार ४८३ पर्यटक शुल्क उठेको थियो । पर्यटक शुल्कलगायतबाट हुने आम्दानी संरक्षण गतिविधि र पर्यटन प्रवर्धनका कार्यक्रममा खर्च हुने गरेको आयोजना कार्यालयले जनाएको छ । रासस