• Menu

मैथिल परम्पराको रावणवध उत्सव आयोजना, यस्तो छ धार्मिक महत्व

नेपाल प्रफिट

२०८३ कात्तिक ५, बिहीबार ०६:१०

मैथिल परम्पराको रावणवध उत्सव आयोजना, यस्तो छ धार्मिक महत्व

महोत्तरी । शारदीय दशहरा अर्थात् विजयादशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा बुधबार साँझ आयोजना गरिएको छ ।

त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले युद्धमा रावणको वध गरेको विश्वासमा मिथिलामा यो उत्सव मनाउने परम्परा छ ।  सीताजी अर्थात् मैथिलीलाई आफ्नै चेलीबेटी मान्ने मिथिला परम्पराले यहाँ रावणवध खास महत्वको उत्सव रहँदै आएको छ ।

मिथिला क्षेत्रमा रावणवध उत्सव विजयादशमीका दिन साँझपख मनाइन्छ । ‘युद्धमा श्रीरामले शारदीय दशहरा (दशमी) का दिन साँझपख रावणवध गरेको विश्वास छ,’ मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्ण भन्छन्, ‘त्यसैले मटिहानीमा बर्सेनि दशमीका दिन साँझ रावणवध लीला गरिँदै आएको छ ।’

मिथिलाकी चेली सीताजीको अपहरण गर्ने रावण यसै अपराधका लागि मारिएको कुरा मैथिलका लागि उत्सव नै बन्ने गरेको उनले बताए । रावणवध उत्सवका अवसरमा मटिहानी–८ तस्मैयाबाबा उद्यानमा निर्मित ५१ फिट अग्लो रावण आकृतिलाई आग्नेय वाणको प्रतीकात्मक आगोको मुस्लो हानेर भष्म गरिने लीला आज बुधबार साँझ सम्पन्न गरिएको छ । यसैगरी जलेश्वरमा पनि रावणवध उत्सव सम्पन्न गरिएको छ ।

मटिहानीमा वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको संहार (संघार) गरेको सम्झनामा प्रतीकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई संहार गरेको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डलले बताए ।

दशहारा (दसैं) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड, महिषासुर र रक्तविजसहितका दैत्यको संहार प्रतीकात्मक रहेझैं मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ । सत्ययुगमा देवीले दैत्य संहार गरेझैं त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ ।

खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन वध गरेको  विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानीबासी बताउँछन् ।

भगवान् श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गरेको हुँदा ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नामले प्रसिद्धि पाएको मैथिल लोक परम्पराका जानकार जलेश्वर–७ बखरीका बासिन्दा पूर्वप्रशासक महेश्वर रायले बताए । रावण वध उत्सव यस क्षेत्रको महत्वपूर्ण संस्कृति रहेको रायको कथन छ ।

मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको ढलेको आकृति आज उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पुर्‍याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा छ ।