• Menu

सिटिजन्स बैंकको नुवाकोट बट्टारमा नयाँ शाखा सञ्चालन

नेपाल प्रफिट

२०८३ कात्तिक १७, मंगलबार ११:१९

सिटिजन्स बैंकको नुवाकोट बट्टारमा नयाँ शाखा सञ्चालन

नुवाकोट । बागमती प्रदेशको भोटेकोशी नदीमा आएको बाढीका कारण पूर्ण रूपमा क्षति पुगेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको देवीघाट शाखाको सेवा अब नुवाकोटको बट्टारबाट सञ्चालनमा आएको छ।

स्थानीय सेवाग्राहीलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले विदुर नगरपालिका-२, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यसअघि देवीघाटमा रहेको शाखाबाट बट्टार करिब सात किलोमिटरको दूरीमा रहेको छ।

बट्टारमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको आतिथ्यमा नयाँ शाखाको शुभारम्भ गरिएको हो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको अवस्थामा पनि ग्राहकलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बट्टार शाखा सञ्चालनमा ल्याइएको बताए । कठिन परिस्थितिमा धैर्य धारण गर्दै शाखा सञ्चालनमा ल्याउन सफल कर्मचारीहरूको उनले प्रशंसा गरे । विनाशकारी बाढीले देवीघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त बनाए पनि त्यहाँ कार्यरत सबै कर्मचारी सुरक्षित रहन सफल भएका थिए।

नयाँ शाखामार्फत ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ। साथै साना तथा कर्पोरेट व्यवसायीहरूलाई वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य बैंकले राखेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्ने जनाएको छ। उक्त शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) परीक्षण तथा मधुमेह (सुगर) परीक्षणलगायत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ।

विश्वकै प्रतिष्ठित ‘अवार्ड बैंक अफ द इयर २०२४’ र ‘२०२५’ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।