झापा । मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व संकलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म ४ अर्ब ९२ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ४ अर्ब ६७ करोड सात लाख ७३ हजार संकलन गरेको हो ।
यस अवधिमा निर्धारित लक्ष्यको ९४.९३ प्रतिशत राजस्व संकलन भएको हो ।
महिनागत विवरणअनुसार साउनमा एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार संकलन भएको थियो ।
त्यस्तै, भदौमा एक अर्ब ६४ करोड लक्ष्य रहेकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
असोजमा भने राजस्व संकलन थप बढेको देखिन्छ । उक्त महिनामा एक अर्ब ८४ करोड ५० लाख संकलन गर्ने लक्ष्य रहेकामा एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार संकलन भएको छ । यो असोज महिनाको लक्ष्यको ९९.५९ प्रतिशत हो ।
कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा ४ अर्ब १५ करोड २० लाख नौ हजार संकलन भएको थियो । रासस