काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारको स्थलगत अवलोकन गरेपछि मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको महाकुम्भ आयोजना गर्न कर्णाली तयार रहेको बताएका हुन् ।
अवलोकनका क्रममा उनले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवालासँग पूर्वाधार निर्माणको पछिल्लो अवस्था र बाँकी कामबारे छलफल गरे ।
निरीक्षणपछि मन्त्री पोखरेलले निरन्तरको प्रयास र संवादले पूर्वाधार निर्माणको गतिलाई तीव्र बनाएको बताउनुभयो। रंगशाला तथा अन्य खेल संरचना निर्माणको काम अघि बढिरहेको उल्लेख गर्दै उहाँले देशभरका प्रदेश, जिल्ला र स्थानीय तहमा प्रतियोगिताप्रति उत्साह र तत्परता देखिएको जानकारी दिए ।
मन्त्री पोखरेलले प्रतियोगिता सुरु हुन बाँकी ३० दिनको काउन्टडाउनसमेत सुरु भएको घोषणा गरे।
लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उनले खेलाडी तथा समग्र खेल क्षेत्र उत्साहित रहेको बताए ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सिलसिलामा सुर्खेत पुगेका मन्त्री पोखरेलले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसँग पनि छलफल गरेका थिए ।
प्रतियोगिताको तयारीसँगै खेल पूर्वाधार निर्माण, बाँकी कामको व्यवस्थापन र आयोजनालाई सफल बनाउने विषयमा भएको यो भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।