• Menu

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपाल प्रफिट

२०८३ कात्तिक १७, मंगलबार १२:१८

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।

उनले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा लगेर निर्धारित समयभित्र औषधि खुवाउन आग्रह गरेका छन् ।

कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिँदैछन्।

सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षा तथा पोषण अवस्था सुधार गर्ने उद्देश्यले हरेक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ तथा जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ।

बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले २०५० साल देखि भिटामिन ‘ए’ क्याप्सुल तथा २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउन थालिएको हो ।

सरकारले यस कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्य प्रवर्धन र रोग प्रतिरोधात्मक क्षमता सुदृढ गर्न योगदान पुग्ने अपेक्षा गरेको छ।