• Menu

नबिल बैंकको नाफा ४५.४४ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो २ अर्ब ५५ करोड

नेपाल प्रफिट

२०८३ कात्तिक १५, आइतबार १६:३४

नबिल बैंकको नाफा ४५.४४ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो २ अर्ब ५५ करोड

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४४ प्रतिशतले बढी हो ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष बैंकको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।

बैंकको नाफा बढ्नुमा इम्पेरमेन्ट चार्जमा आएको कमी र खुद ब्याज आम्दानीमा भएको वृद्धि मुख्य कारण देखिएका छन् । गत वर्ष ६४ करोड ७२ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर यस वर्ष १६ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब ९० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमासको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ४.०६ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा पुगेको छ ।