• Menu

बडीमालिकामा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार १४:०७

बडीमालिकामा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध

बाजुरा । बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

नगरपालिकाले सूचना जारी गर्दै तिहारका बेला प्लास्टिकका फूल, माला तथा सोही प्रकृतिका सजावटका सामग्री बिक्री वितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो। नगरपालिकाले स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी र सर्वसाधारणलाई अनुरोध गरेको छ।

स्थानीय उत्पादनको प्रवर्धन, वातावरण संरक्षण तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको निर्णय अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तरहीन फूलमाला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनीसमेत दिइएको छ।

नगर उपप्रमुख नन्दाकुमारी थापाले स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गरी उनीहरूको आम्दानीको स्रोत सुनिश्चित गर्न आयातित प्लास्टिकजन्य फूलमाला निषेध गरिएको बताइन्।

स्थानीय फूलको उत्पादन र बजार प्रवर्धनसँगै वातावरण संरक्षणमा समेत यो निर्णयले सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ।