काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् ।
प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव छाडेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।
ब्याटिङतर्फ विराटनगर किङ्सका नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा १६२.०६ को स्ट्राइक रेटमा १८८ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतक प्रहार गरेका छन् ।
विराटनगरको लगातार दुई जितमा लोकेशको ब्याटिङ महत्त्वपूर्ण बनेको थियो । आक्रामक ब्याटिङ गरिरहेका उनले छोटो समयमै ठूलो स्कोर बनाउन सक्ने क्षमता देखाएका छन् ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा विराटनगरकै वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन् । अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित रसेलसँगै नेपाली ब्याटरले सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अग्रता लिनु घरेलु क्रिकेटका लागि सकारात्मक पक्ष हो ।
लोकेशबाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । पवनले १०३ र इमरानले १०० रन बनाइसकेका छन् । नेपाली ब्याटरले व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै टोलीको जितमा समेत योगदान पुर्याउन थालेका छन् ।
विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीले एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटका लागि सुखद रहेको बताए । प्रतियोगिताको सुरुआती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउनु सकारात्मक संकेत भएको उनको भनाइ छ ।
‘जारी एनपिएलको सुरुआती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ । प्लेयर अफ द म्याच अवार्ड जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन् । यो नेपाली क्रिकेटका लागि राम्रो संकेत हो,’ पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका चौधरीले भने ।
ब्याटिङमा मात्र नभई बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८.२० को इकोनोमी रेटमा सात विकेट लिएका छन् ।
सोमपालले प्रभावकारी बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखेका छन् । कप्तानीसँगै बलिङ र ब्याटिङ दुवैतर्फ जिम्मेवारीपूर्ण प्रदर्शन गरिरहेका उनको लय कर्णालीका लागि महत्त्वपूर्ण बनेको छ ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङ्ग्यान्डका मोइन अली र श्रीलंकाका एन्जेलो म्याथ्युज पनि छन् । उनीहरू दुवैले समान चार खेलमा ७-७ विकेट लिएका छन् ।
यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि प्रभावशाली बलिङ गरिरहेका छन् । उनले चार खेलमा ६.१२ को इकोनोमी रेटमा छ विकेट लिएका छन् । विपक्षी ब्याटरलाई खुलेर रन बनाउन नदिने उनको क्षमताले सुदूरपश्चिमको बलिङलाई थप मजबुत बनाएको छ ।
जनकपुर बोल्ट्सबाट पहिलोपटक एनपिएल खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव पनि यस संस्करणका आकर्षण बनेका छन् । उनले चार खेलमा सातको इकोनोमी रेटमा ६ विकेट लिएका छन् । जनकपुरको दुई जितमा राहुलको योगदान महत्त्वपूर्ण रहेको छ ।
कम उमेरमै ठूलो प्रतियोगितामा अवसर पाएका राहुलले आफ्नो बलिङ क्षमतामार्फत समर्थकको ध्यान खिचेका छन् । उनी यस संस्करणमा ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइसकेका छन् । अनुभवी विदेशी तथा राष्ट्रिय टोलीका खेलाडीसँगै मैदानमा उत्रिएर आत्मविश्वासपूर्ण प्रदर्शन गरेका राहुल नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक सम्भावना भएको जनकपुरमा आबद्ध इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले बताएका छन् । उनले राहुललाई ‘नेपाली मलिङ्गा’ को उपमासमेत दिएका छन् ।
विराटनगर किङ्सका निर्देशक चौधरीका अनुसार एनपिएलले नेपाली खेलाडीलाई अन्तरराष्ट्रियस्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ । नेपाली खेलाडीले देखाएको निरन्तरता र आत्मविश्वासले घरेलु क्रिकेटको स्तरमा सुधार भइरहेको संकेत गरेको उनको भनाइ छ ।
‘विगतका संस्करणमा सुरुआतदेखि नै विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए । तर, यसपालि नेपाली खेलाडीबाट पनि निरन्तर उत्कृष्ट प्रदर्शन देखिएको छ,’ उनले भने ।
नेपाल क्रिकेट संघ (क्यान)का पूर्वछनोट समिति संयोजकसमेत रहेका चौधरीले प्रतियोगिताभर नेपाली खेलाडीको प्रदर्शन यही लयमा कायम रहने विश्वास व्यक्त गरे । पूरा सिजनमा घरेलु खेलाडीले अझ राम्रो प्रदर्शन गर्दै टोलीको नतिजामा निर्णायक भूमिका खेल्न सक्ने उनको भनाइ छ । रासस