• Menu

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

नेपाल प्रफिट

२०८३ असोज ९, शुक्रबार १७:२६

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन् ।

जेलेन्स्कीका अनुसार ट्रम्पले पछिल्लो भेटमा आफूले यस विषयमा अन्तिम निर्णय गरिसकेको र युक्रेनले आफ्नै भूमिमा प्याट्रियट मिसाइल उत्पादनका लागि आवश्यक इजाजतपत्र प्राप्त गर्ने जानकारी दिएका हुन् ।

रुसबाट प्रहार हुने ब्यालिस्टिक मिसाइल रोक्न प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली प्रभावकारी मानिन्छ । तर युक्रेनले लामो समयदेखि यस्ता मिसाइलको अभाव झेल्दै आएको छ ।

यसअघि जुलाईमा ट्रम्पले युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिनु उपयुक्त हुने बताएका थिए । तर पछि अनुमति दिनुअघि अमेरिकाले यस विषयमा सावधानीपूर्वक निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

फेब्रुअरीमा अमेरिका र इजरायलबीच इरानसँग युद्ध भएपछि युक्रेनले प्याट्रियट इन्टरसेप्टर मिसाइलको थप अभाव भएको जनाएको थियो । त्यस क्रममा केही हवाई प्रतिरक्षा प्रणालीका आपूर्ति अन्यत्र मोडिएको बताइएको थियो ।

युक्रेनले उत्पादनको अनुमति पाए पनि तत्कालको आवश्यकतामा भने त्यसबाट पर्याप्त सहयोग नपुग्ने देखिएको छ । नयाँ औद्योगिक उत्पादन क्षमता स्थापना गर्न एक वर्षभन्दा बढी समय लाग्न सक्ने भएकाले किएभले आगामी हिउँदअघि नै तत्काल सैन्य सहयोग उपलब्ध गराउन अमेरिकासँग आग्रह गरिरहेको छ ।

रुसले युक्रेनको विद्युत तथा ताप आपूर्ति संरचनामाथि निरन्तर आक्रमण गर्दै आएकाले आगामी हिउँदमा पनि यस्ता आक्रमण दोहोरिन सक्ने चिन्ता युक्रेनले व्यक्त गरेको छ ।

जेलेन्स्कीले गत महिना युक्रेनलाई हिउँद पार गर्न अमेरिकाको प्याट्रियट इन्टरसेप्टर मिसाइलको पाँच प्रतिशत र रुसका सबै ब्यालिस्टिक प्रक्षेपण रोक्न १० प्रतिशत आवश्यक पर्ने बताएका थिए ।

यसैबीच, किएभले आफ्नै ब्यालिस्टिक मिसाइल प्रतिरोधी प्रणाली विकास गर्ने प्रयास पनि अघि बढाइरहेको छ । जेलेन्स्कीका अनुसार युक्रेनले ‘फ्रेयाम’ नामक आफ्नै प्रतिरक्षा प्रणाली निर्माणमा काम गरिरहेको छ ।