एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गरेका छन् । उनले चीन-अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद व्यवस्थापन गर्दै स्थिर सम्बन्ध अघि बढाउनुपर्ने बताए । यसै वर्ष मेमा भएको समझदारीलाई कार्यान्वयन गर्दै आर्थिक तथा व्यापारिक सम्बन्ध स्थिर राख्न सहयोगका क्षेत्र विस्तार र विवादका विषय घटाउनुपर्ने उनले उल्लेख गरे ।
एआईका क्षेत्रमा दुवै देशसँग बलियो क्षमता रहेको बताउँदै सीले यसको जोखिम र फाइदाबारे निरन्तर संवाद तथा दुरुपयोग रोक्न संयुक्त प्रयास आवश्यक रहेको बताए । एआई मानव नियन्त्रणमा रहनुपर्ने र मानवकेन्द्रित ढंगले विकास गरिनुपर्नेमा उनले जोड दिए ।
ताइवानबारे सीले राष्ट्रिय एकीकरण र क्षेत्रीय अखण्डताको रक्षा गर्ने चीनको अडान स्पष्ट रहेको बताउँदै अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्ने नीतिमा कायम रहनुपर्ने बताए । यसबाट चीन-अमेरिका रणनीतिक सहयोग तथा द्विपक्षीय सम्बन्ध विकासका लागि आधार तयार हुने उनको भनाइ थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सीको भ्रमणलाई उत्कृष्ट बताउँदै आर्थिक तथा व्यापारिक संवाद जारी राख्नुपर्ने बताए । दुवै देशका टोलीबीचको पछिल्लो छलफलबाट नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले व्यापार सम्झौता सुधारका लागि वार्ता जारी राख्नुपर्ने धारणा व्यक्त गरे । एआईमा पनि संवाद र सहयोग विस्तार गर्न दुवै नेता सहमत भएका छन् ।
वार्तामा मध्यपूर्व, युक्रेन संकट र कोरियाली प्रायद्वीपको अवस्थालगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा विचार आदानप्रदान भएको थियो । साथै, सन् २०२६ मा हुने एपेक आर्थिक नेताहरूको बैठक र जी-२० शिखर सम्मेलन आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ ।
राष्ट्रपति सीको तीनदिने अमेरिका भ्रमणका क्रममा भएको यो भेट ६ महिनाभन्दा कम अवधिमा दुई नेताबीच भएको दोस्रो भेट हो ।