• Menu

धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खुल्दै, महाकाली किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नेपाल प्रफिट

२०८३ असोज ९, शुक्रबार १७:२८

धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खुल्दै, महाकाली किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन भारतबाट प्राप्त पत्रअनुसार आइतबार राति १२:०० बजेदेखि सोमबार बिहान १०:०० बजेसम्म सिल्ट सफाइ (जलविद्युत आयोजना, सिँचाइ नहर, ढलको लेदो, बाक्लो माटो वा बालुवा सफा गर्ने प्रविधि) का लागि बाँध खोलिने भएको हो ।

यसअघि गत साउन १३ गते पनि धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिएको थियो । सिल्ट सफाइका लागि परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए । बाँध खोलिने समयमा नदी तटीय क्षेत्रका स्थानीयलाई नदीकिनारमा नजान आग्रह गरिएको उनले बताए ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो । दुई सय ८० मेगावाट विद्युत क्षमताको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने बताउँदै अर्यालले सोहीअनुसार यता पनि सतर्कता अपनाइने बताए ।