मकवापुर । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालैपालो सवारीसाधन सञ्चालन गरिने भएको छ ।
दुवै राजमार्ग अवरुद्ध भई त्रिभुवन राजपथमा सवारीसाधनको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ जाने र काठमाडौंबाट हेटौंडा आउने सवारीसाधनका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार आज हेटौंडाको चौकीटोलबाट काठमाडौंतर्फ बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म र काठमाडौंबाट हेटौंडातर्फ सिमभञ्ज्याङ चौकीबाट साँझ ७:०० बजेदेखि राति ११:०० बजेसम्म सवारीसाधन सञ्चालन गरिनेछ ।
शनिबार हेटौंडाबाट काठमाडौंतर्फ बिहान ४:०० बजेदेखि ८:०० बजेसम्म तथा राति १०:०० बजेदेखि असोज ११ गते बिहान २:०० बजेसम्म सवारीसाधन सञ्चालन गरिनेछ । काठमाडौंबाट हेटौंडातर्फ भने शनिबार दिउँसो १:०० बजेदेखि साँझ ५:०० बजेसम्म र असोज ११ गते आइतबार बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म सवारीसाधन सञ्चालन गरिने उनले बताए ।
प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेकाबाहेक १० चक्केभन्दा लामा र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ । यात्रुवाहक बस भने ११ मिटर लम्बाइसम्मका मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । प्रजिअ अधिकारीले तोकिएको समय तालिकाअनुसार मात्रै यात्रा गर्न चालक, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको जानकारी दिए ।