• Menu

विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत पुग्यो

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १७:३०

विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत पुग्यो

एजेन्सी । विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय रोबोटिक्स महासंघ (आईएफआर) को ‘विश्व रोबोटिक्स २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा चीनमा तीन लाख ५४ हजार औद्योगिक रोबोट जडान भएका थिए । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी हो ।

फ्र्याङ्कफर्टस्थित आईएफआरका अध्यक्ष जेन हेफनरले एक दशकअघि सुरु गरिएको राष्ट्रिय रोबोटिक्स रणनीतिका कारण चीनले औद्योगिक क्षेत्रको आधुनिकीकरणमा उल्लेख्य प्रगति गरेको बताए । चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६-२०३०) ले पनि रोबोटिक्स र कृत्रिम बौद्धिकताको प्रयोगलाई प्राथमिकता दिएको उनले उल्लेख गरे ।

चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण, मोटर वाहन, धातु तथा मेसिनरी उद्योगबाट बढी आएको छ । सन् २०२५ मा विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा ९६ हजार चार सय, मोटर वाहन उद्योगमा ७८ हजार नौ सय र धातु तथा मेसिनरी उद्योगमा ७८ हजार सात सय रोबोट जडान भएका थिए ।

चिनियाँ रोबोट निर्माता कम्पनीको घरेलु बजारमा हिस्सा पनि बढेको छ । गत वर्ष चिनियाँ कम्पनीले आपूर्ति गरेका रोबोटको जडान १५ प्रतिशतले बढेर एक लाख ९५ हजार पुगेको थियो । यो चीनमा भएको कुल औद्योगिक रोबोट जडानको ५५ प्रतिशत हो ।

आईएफआरका अनुसार चीनको औद्योगिक रोबोट बजार अझै सन्तृप्त अवस्थामा पुगेको छैन । सन् २०२९ सम्म चीनको औद्योगिक रोबोट बजारमा वार्षिक पाँचदेखि १० प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ ।

जनसंख्यामा आएको परिवर्तन र श्रमिक अभावका कारण उद्योगमा स्वचालनको माग बढ्ने तथा रोबोटको प्रयोगले उत्पादनलाई श्रमिक अभावप्रति थप लचिलो बनाउन सहयोग गर्ने आईएफआरले जनाएको छ ।

सम्बन्धित समाचार