काठमाडौं । भारतले खानेतेल आयातमा लाग्ने भन्सार शुल्कमा भारी कटौती गरेको छ । भारतको केन्द्र सरकारले पाम आयल, भटमास (सोयाबिन), सूर्यमुखीलगायतका खानेतेलमा लाग्ने आधारभूत भन्सार शुल्कमा भारी कटौती गर्ने घोषणा गरेको हो । परिमार्जित भन्सार दर आज बिहीबारदेखि नै लागू भएको छ ।
भारतीय उपभोक्तालाई चाडपर्वमा सस्तो तेल उपलब्ध गराउन र महँगी घटाउने उद्देश्यले भारत सरकारले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको १० प्रतिशत भन्सार शुल्क पूर्णरूपमा खारेज गरेको छ प्रशोधित सूर्यमुखी तेलमा ३२.५ प्रतिशतबाट घटाएर २२.५ प्रतिशत कायम गरिएको छ ।
कच्चा पाम तेल र कच्चा सोयाबिन तेलका हकमा आधारभूत भन्सार शुल्क १० प्रतिशतबाट आधा घटाएर ५ प्रतिशत बनाइएको छ । प्रशोधित पाम आयल र प्रशोधित सोयाबिन तेलमा लाग्ने शुल्क ३२.५ प्रतिशतबाट २७.५ प्रतिशतमा झारिएको छ ।
भारतीय उद्योग विज्ञहरूले भन्सार कटौतीको यो निर्णय घरेलु बजारका लागि अत्यन्तै महत्त्वपूर्ण बताएका छन् । भारत सरकारको यो निर्णय नेपालको अर्थतन्त्र, नेपाली व्यापारी र नेपाली उपभोक्ताका लागि भने सुखद् छैन ।
नेपालको वैदेशिक व्यापारमा खानेतेल (भटमास, पाम र सूर्यमुखी) सबैभन्दा धेरै निर्यात हुने वस्तु हो । नेपाली उद्योगीले तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधन गरी ‘साफ्टा’ सम्झौता अन्तर्गत भारतमा शून्य भन्सारमा खानेतेल पठाउँदै आएका छन् ।
भारतमा भन्सार महँगो हुँदा नेपाली तेलले त्यहाँ राम्रो बजार पाएको थियो । तर, अब भारतमै कच्चा तेलको भन्सार घटेपछि भारतीय उद्योगहरूले सिधै सस्तोमा तेल आयात गर्न सक्छन् ।
नेपालमा प्रशोधन गरेर पठाउँदा लागत महँगो पर्न गई नेपाली तेलले भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आउनेछ । यसले गर्दा खानेतेल उद्योगहरूको उत्पादन कटौती हुने, उद्योगहरु बन्द हुने तथा ती उद्योगमा काम गर्ने कामदारको रोजगारी गुम्ने स्थिति आउन सक्छ ।
साथै खुला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपालतर्फ अवैध रूपमा खानेतेल भित्रिने जोखिम पनि उच्च हुनेछ ।