काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४-२५ ले पराजित गरेको हो । यससँगै नेपाली महिला कबड्डी टोलीले प्रतियोगितामा पदक जित्ने निश्चित गरेको छ ।
नेपालले पहिलो हाफमा १९-१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा नेपाल १५-१२ ले अघि रहँदै समग्रमा ३४-२५ को जित निकाल्न सफल भयो ।
समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनलमा पुगेको छ ।
यसअघि चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।
पुरुष कबड्डीमा मलेसियामाथि जित
यसैगरी, पुरुष कबड्डीमा नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियामाथि ७३-५२ को जित निकालेको छ ।
नेपालले पहिलो हाफमा ३७-२१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा नेपाल ३६-३१ ले अघि रहँदै समग्रमा २१ अंकको जित हासिल गरेको हो ।
यद्यपि, यो नेपाली पुरुष टोलीको सान्त्वना जित बनेको छ । यसअघि लगातार तीन खेलमा पराजित भएसँगै नेपाली पुरुष कबड्डी टोली प्रतियोगिताबाट बाहिरिसकेको छ ।