• Menu

विद्या भण्डारी एमालेको वरिष्ठ नेता

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १६:१८

विद्या भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाएको छ । पार्टी सचिवालयको प्रस्तावलाई बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।

सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको थियो । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव अघि सारेका थिए ।

भण्डारीलाई एमालेमा अध्यक्षपछि दोस्रो वरीयता रहने गरी सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ ।

यसअघि पूर्वराष्ट्रपतिको पदमा रहँदा भण्डारी पार्टी राजनीतिबाट अलग रहेकी थिइन् । राष्ट्रपतिको कार्यकाल सकिएपछि उनको पार्टी सदस्यता नवीकरणको विषय लामो समय रोकिएको थियो । गत जेठमा एमाले सचिवालयले भण्डारीको पार्टी सदस्यता पुनः कायम गर्ने निर्णय गरेको थियो ।

सदस्यता कायम भएसँगै भण्डारीको एमालेको सक्रिय राजनीतिमा पुनरागमनको बाटो खुलेको थियो । बिहीबारको निर्णयसँगै उनलाई पार्टीमा औपचारिक जिम्मेवारीसमेत दिइएको हो ।

भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसकेकी छन् । उनी २०७२ देखि २०७९ सम्म दुई कार्यकाल नेपालको राष्ट्रपति थिइन् ।