• Menu

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच ह्वाइट हाउसमा आज वार्ता, व्यापारदेखि कृत्रिम बौद्धिकतासम्म एजेन्डा

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १६:०७

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच ह्वाइट हाउसमा आज वार्ता, व्यापारदेखि कृत्रिम बौद्धिकतासम्म एजेन्डा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार ह्वाइट हाउसमा हुने वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्वपूर्ण खनिज तथा क्षेत्रीय विषय प्रमुख रूपमा उठ्ने भएका छन् ।

वार्ताअघि अमेरिका र चीनले व्यापार युद्धविरामलाई आगामी जनवरी १०, २०२७ सम्म थप गरेका छन् । यसअघि युद्धविराम नोभेम्बर १० मा समाप्त हुने तय थियो । थपिएको समयलाई दुई देशबीच व्यापारसम्बन्धी वार्ता अघि बढाउने अवसरका रूपमा हेरिएको छ ।

दुर्लभ माटो तथा महत्वपूर्ण खनिजको आपूर्ति, उन्नत प्रविधि र चिप्ससम्बन्धी विषयमा अमेरिका र चीनबीच लामो समयदेखि मतभेद रहँदै आएको छ । अमेरिकाले महत्वपूर्ण खनिजको आपूर्ति सहज बनाउन चाहेको छ भने चीनले अमेरिकी उन्नत प्रविधिमाथिका प्रतिबन्धका विषय उठाउँदै आएको छ ।

कृत्रिम बौद्धिकता पनि यसपटकको वार्ताको नयाँ विषय बनेको छ । दुवै देशबीच राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कृत्रिम बौद्धिकतासम्बन्धी घटनाबारे सूचना आदानप्रदान गर्ने संयन्त्र निर्माणका विषयमा छलफल हुनसक्ने बताइएको छ ।

इरानको विषय पनि वार्तामा उठ्ने अपेक्षा गरिएको छ । अमेरिकाले चीनसँग आफ्नो प्रभाव प्रयोग गरी तेहरानलाई द्वन्द्व अन्त्यका लागि प्रोत्साहित गर्न आग्रह गर्दै आएको छ । चीनको इरानसँग आर्थिक तथा कूटनीतिक सम्बन्ध रहेकाले यस विषयमा दुवै पक्षबीच छलफल हुने अपेक्षा गरिएको छ ।

ताइवानसम्बन्धी विषय पनि दुई देशबीचको संवेदनशील मुद्दाका रूपमा वार्तामा उठ्नेछ । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई सुरक्षा सामग्री उपलब्ध गराउँदै आएको छ । ताइवानलाई अमेरिकी हतियार बिक्रीको विषयमा चीनले आपत्ति जनाउँदै आएको छ ।

व्यापार र सुरक्षासम्बन्धी विषयमा मतभेद कायमै रहे पनि दुवै पक्षले संवाद कायम राख्दै सम्बन्ध थप तनावपूर्ण हुन नदिने प्रयास गरिरहेका छन् । पछिल्ला रिपोर्टहरूमा यसपटकको वार्ताबाट ठूलो सम्झौताभन्दा व्यापार युद्धविरामलाई निरन्तरता दिने तथा संवेदनशील विषयमा संवाद अघि बढाउने प्रयास हुने अपेक्षा गरिएको छ ।