• Menu

संयुक्त राष्ट्रसंघको महासभा : परराष्ट्रमन्त्री खनालको व्यस्त भेटवार्ता

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १३:३९

संयुक्त राष्ट्रसंघको महासभा : परराष्ट्रमन्त्री खनालको व्यस्त भेटवार्ता

न्युयोर्क  । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल विभिन्न देशका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलसँगको भेटवार्तामा व्यस्त छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क पुगेका मन्त्री खनालले द्विपक्षीय, बहुपक्षीय तथा सामरिक महत्वका बैठकमा सहभागिता जनाउनुका साथै विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गरिरहेका छन् ।

मन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशङ्करसँगको भेटमा नेपालमा भदौ १० गते आएको रसुवा बाढीबारे जानकारी गराउँदै विपद्को समयमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । भेटमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपाल र नेपाली जनताप्रति सहानुभूति व्यक्त गरेका थिए ।

त्यसैगरी, जापानी विदेशमन्त्री मोतेगी तोसिमीत्सुसँगको भेटमा मन्त्री खनालले विपद्को समयमा जापानले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । जवाफमा जापानी विदेशमन्त्रीले नेपाललाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन सहयोग गर्न तयार रहेको बताएका थिए । उनले आपत्कालीन सहयोगस्वरूप ३० लाख अमेरिकी डलर तत्काल उपलब्ध गराउने जानकारी दिएका थिए ।

मन्त्री खनालले अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग पनि भेटवार्ता गरेका छन् । भेटपछि अमेरिकाले बाढी प्रभावित नेपाललाई थप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय सार्वजनिक गरेको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगमध्ये एक करोड अमेरिकी डलर स्थायी पुल निर्माणमा, ८० लाख अमेरिकी डलर सरसफाइ, खानेपानी, आश्रयस्थल निर्माण तथा प्रभावित नागरिकको जीवनरक्षामा र करिब एक करोड ३० लाख अमेरिकी डलर विपद्सम्बन्धी जानकारी तथा निगरानीका लागि ड्रोन उपलब्ध गराउन प्रयोग गरिनेछ ।

यसैगरी, मन्त्री खनालले युगाण्डा, माल्दिभ्सलगायतका देशका विदेशमन्त्रीसँग भेट गरी जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षति र विपद्बारे जानकारी गराएका छन् । उनले जलवायु न्यायका लागि नेपाललाई आवश्यक सहयोग गर्न विश्वका नेता, समकक्षी तथा विभिन्न संस्थाका प्रतिनिधिसँग आग्रह गरिरहेको नेपाली स्थायी नियोगले जनाएको छ ।

मन्त्री खनालले अमेरिकी चेम्बर अफ कमर्शका प्रतिनिधिसँग भेट गरी लगानी तथा व्यापारलगायतका विषयमा पनि छलफल गरेका छन् । उनले मंगलबार भारत सरकारले आयोजना गरेको ‘ग्लोबल साउथ’ कार्यक्रममा सहभागी भई मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गरेका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल बुधबार न्युयोर्क पुगेको छ । प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि पनि परराष्ट्रमन्त्री खनाल केही दिन न्युयोर्कमै रहने भएकाले थप साइडलाइन भेटवार्ता तथा बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । मन्त्री खनालसँगै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई तथा वासिङ्टन डिसीस्थित नेपाली दूतावासका प्रतिनिधि सहभागी छन् । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि विभिन्न साइडलाइन बैठकमा सहभागी भइरहेका छन् ।

सम्बन्धित समाचार