• Menu

हर्मुज जलघाँटी तत्काल खोल्न संयुक्त राष्ट्रसंघका ८० देशको जोड, अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी

नेपाल प्रफिट

२०८३ असोज ९, शुक्रबार १२:४५

हर्मुज जलघाँटी तत्काल खोल्न संयुक्त राष्ट्रसंघका ८० देशको जोड, अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी

एजेन्सी । बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसं३का ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् ।

बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल-जयानीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गरेका हुन् । उनले हर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताए ।

बहराइनको विदेश मन्त्रालयका अनुसार अल-जयानीले मार्चमा पारित संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव २८१७ पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् । उनले ओमानको तटमा जहाजमाथि भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु तथा हुथी समूहले साउदी अरबतर्फ छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाए।

८० देशको संयुक्त वक्तव्यमा इरानबाट छिमेकी मुलुकविरुद्ध भएका भनिएका आक्रमण, अन्तर्राष्ट्रिय व्यापारमा परेको अवरोध तथा ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा उत्पन्न जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ । सहभागी देशहरूले अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज जलघाँटी तत्काल खोल्न र कुनै अवैध शुल्क वा अवरोधबिना जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न आग्रह गरेका छन् ।

वक्तव्यमा यमनका हुथी समूहको गतिविधि, साउदी अरविरुद्धका आक्रमण तथा लाल सागरमा भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गरिएको छ । बाब अल-मन्दब जलघाँटीतर्फ हुने थप गतिविधिले अन्तर्राष्ट्रिय समुद्री आवतजावत र विश्वव्यापी व्यापारमा जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।